झापा– पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १५ लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । यसअघि कम्पनीको सञ्चालक समितिले १५ लाख कित्ता आईपीओ जारी गर्ने निर्णय गरेको थियो ।
कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव अनुमोदनका लागि भदौ १३ गते वार्षिक साधारणसभा बोलाएको थियो ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका अध्यक्ष राजीव सापकोटा र पुष्पलाल इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष लालप्रसाद सावा लिम्बूले हस्ताक्षर गरेका छन् ।
यसअघि कम्पनीले अधिकृत पुँजी १ अर्ब रुपैयाँ र जारी पुँजी ७५ करोड रुपैयाँ कायम गर्ने निर्णय गरेको थियो । प्रस्तावित आईपीओमार्फत सर्वसाधारणलाई कम्पनीको स्वामित्वमा सहभागी गराउने तयारी गरिएको कम्पनीका लगानी व्यवस्थापक सुवास भट्टराईले बताए ।
पुष्पलाल इन्भेष्टमेन्टले नेपालको अर्थतन्त्रमा दिगो वृद्धि र विकासलाई अघि बढाउने उद्देश्यसहित विभिन्न क्षेत्रमा लगानी गर्दै आएको जनाएको छ । कम्पनीका अनुसार ऊर्जा, सूचना तथा प्रविधि, सञ्चार र पर्यटनलगायतका क्षेत्रमा रणनीतिक रूपमा लगानी केन्द्रित गरिएको छ ।
कम्पनीले सानो लगानीलाई ठूला अवसरसँग जोड्दै राष्ट्र निर्माणमा योगदान पुर्याउने उद्देश्य राखेको जनाएको छ । प्रस्तावित आईपीओ निष्कासनसँगै सर्वसाधारणसमेत कम्पनीको लगानी यात्रामा सहभागी हुनेछन् ।
कम्पनीको आईपीओ निष्कासनका लागि लक्ष्मी सनराइज क्यापिटलसँग भएको सम्झौताले यसअघि घोषणा गरिएको आईपीओ प्रक्रियालाई थप औपचारिकरूपमा अघि बढाएको छ ।


















