काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बोलाइएको हो ।
कार्यदलले निर्वाचनमा पार्टीको पराजयको समीक्षा, संगठन शुद्धीकरण तथा सुदृढीकरण र पार्टी पंक्तिलाई एकताबद्ध बनाउने विषय समेटेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।
यसअघि बसेको कार्यदल बैठकमा संयोजक रामबहादुर थापा ‘बादल’ र महासचिव शंकर पोखरेलले निर्वाचन समीक्षासम्बन्धी छुट्टाछुट्टै प्रतिवेदन पेस गरेका थिए । ती दुवै प्रतिवेदनमा रहेका समान धारणा समेटेर अन्तिम मस्यौदा तयार गर्ने जिम्मेवारी थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव पोखरेल सम्मिलित तीन सदस्यीय समितिलाई दिइएको थियो ।
एमाले सचिव डा. राजन भट्टराईका अनुसार निर्वाचनको परिणामको समीक्षा मात्रै नभई संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयलाई समेत प्रतिवेदनमा प्राथमिकता दिइएको छ ।
कार्यदलले तयार गर्ने प्रतिवेदनमाथि शुक्रबार छलफल गर्ने र त्यसपछि दिउँसो १ बजे बस्ने पार्टी सचिवालय बैठकमा पेस गर्ने एमालेको तयारी छ । सचिवालयबाट आवश्यक सुझावसहित पारित भएपछि प्रतिवेदन असोज ५, ६ र ७ गते बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ ।
केन्द्रीय कमिटी बैठकबाट निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका विषयमा ठोस निर्णय गर्ने एमालेको तयारी छ ।


















