२ आश्विन २०८३, शुक्रबार | Fri Sep 18 2026

३० वर्षमाथिकालाई जेई खोप लगाउँदै शिवसताक्षी, झापामा ७ जनाको मृत्यु



झापा-जापानी इन्सेफलाइटिस (जेई) संक्रमणबाट वयस्कमा गम्भीर बिरामी पर्ने र मृत्यु हुने क्रम बढेपछि झापाको शिवसताक्षी नगरपालिकाले ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै जेईविरुद्ध खोप अभियान सञ्चालन गर्ने भएको छ ।

नगरपालिकाले आश्विन ५ देखि १४ गतेसम्म ११ वटै वडामा अभियान सञ्चालन गर्न लागेको हो । त्यसका लागि नगरभरि ६३ वटा खोप केन्द्र तोकिएको शिवसताक्षी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

नगरपालिकाका जनस्वास्थ्य अधिकृत सारङ्गा तामाङका अनुसार अभियानमा २३३ स्वास्थ्यकर्मी, ३०३ स्वयंसेवक र ४० महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुनेछन् । खोप कार्यक्रम बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

नगरपालिकाले ३० वर्षमाथिका ३६ हजार ५२५ नागरिकलाई जेई खोप लगाउने लक्ष्य राखेको छ ।

अभियानलाई प्रभावकारी बनाउन ११ वटै वडाका खोप समन्वय समिति, महिला स्वास्थ्य स्वयंसेविका, ५८ विद्यालयका प्रधानाध्यापक, पालिका समन्वय समिति तथा अन्य सरोकारवालालाई अभिमुखीकरण गरिसकिएको स्वास्थ्यकर्मी रोषन अधिकारीले बताए ।

बालबालिकाबाट वयस्कतर्फ सर्दै जोखिम

जेई लामखुट्टेको टोकाइबाट सर्ने भाइरसजन्य रोग हो । संक्रमित लामखुट्टेले टोकेपछि भाइरसले मस्तिष्क तथा स्नायु प्रणालीमा असर गर्न सक्छ । अधिकांश संक्रमितमा लक्षण नदेखिन सक्छ । तर गम्भीर संक्रमण हुँदा उच्च ज्वरो, टाउको दुख्ने, घाँटी कडा हुने, चेतनामा परिवर्तन, झट्का आउने, पक्षाघात र कोमासम्मको अवस्था आउन सक्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार गम्भीर जेई भएका बिरामीमध्ये करिब ३० प्रतिशतसम्मको मृत्यु हुन सक्छ । बाँचेकामध्ये पनि ३० देखि ५० प्रतिशतमा दीर्घकालीन स्नायु तथा मानसिक समस्या रहन सक्छ ।

जेई संक्रमण भएपछि भाइरसलाई नै लक्षित गर्ने विशेष औषधि उपचार उपलब्ध छैन । गम्भीर बिरामीलाई अस्पतालमा लक्षणअनुसार उपचार र सहयोगी उपचार गरिन्छ । संक्रमणबाट जोगिने प्रमुख उपायमध्ये खोप महत्वपूर्ण मानिन्छ ।

नेपालमा विगतमा जेई संक्रमण बालबालिकामा बढी देखिने भएकाले नियमित खोप कार्यक्रम पनि मुख्यतः बालबालिकामै केन्द्रित थियो । सन् २००६ देखि नेपालमा जेईविरुद्ध खोप अभियान सुरु गरिएको थियो । पछि यसलाई नियमित खोप कार्यक्रममा समावेश गरिएको हो ।

नियमित खोप कार्यक्रम विस्तार भएपछि बालबालिकामा जेईको जोखिम घटेको भए पनि विगतमा खोपको पहुँचमा नपरेका वयस्कमा प्रतिरोधात्मक क्षमता कम हुन सक्ने स्वास्थ्य विज्ञहरूको भनाइ छ । पछिल्ला वर्षमा ३० वर्षमाथिका खोप नलगाएका व्यक्तिमा गम्भीर संक्रमण र मृत्यु देखिन थालेपछि वयस्क लक्षित अभियान सञ्चालन गर्नुपरेको हो ।

नेपालमा १२१ संक्रमित, २६ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक उद्धृत गर्दै प्रकाशित पछिल्लो विवरणअनुसार यस वर्ष असार दोस्रो सातादेखि हालसम्म नेपालमा १२१ जनामा जेई संक्रमण पुष्टि भएको छ । तीमध्ये २६ जनाको मृत्यु भएको छ । संक्रमण सातै प्रदेशका ३६ जिल्लाका ८४ स्थानीय तहमा फैलिएको जनाइएको छ ।

झापा पनि जेईबाट बढी प्रभावित जिल्लामध्ये परेको छ । जिल्लामा यस वर्ष १२ जनामा संक्रमण पुष्टि भएकामा ६ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा ५० वर्षभन्दा माथिका र जेईविरुद्ध खोप नलगाएका व्यक्तिको संख्या ठूलो रहेको सरकारी तथ्यांक उद्धृत गरिएको छ ।

यही पृष्ठभूमिमा शिवसताक्षीले ३० वर्षमाथिका नागरिकलाई लक्षित गरी खोप अभियान अघि बढाएको हो । नगरपालिकाका ११ वटै वडामा एकैपटक सञ्चालन हुने अभियानले विगतमा नियमित खोपको पहुँचमा नपरेका वयस्कलाई जेईविरुद्ध प्रतिरक्षा निर्माण गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८३, शुक्रबार ००:००  १ : ५५ बजे