बिर्तामोड– बाँझोपन तथा निःसन्तानसम्बन्धी समस्या भएका दम्पतीलाई लक्षित गरी बिर्तामोडमा शनिबार निःशुल्क प्रजनन स्वास्थ्य परामर्श शिविर आयोजना गरिएको छ ।
पूर्ण टुंग बिर्तासिटी हस्पिटलमा इन्दिरा आईभीएफ फर्टिलिटी सेन्टर काठमाडौंको सहकार्यमा आयोजित शिविरमा ५० भन्दाबढी सेवाग्राहीले विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिएका छन् ।
शिविरमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. अजय अग्रवाल र प्रजनन रोग विशेषज्ञ तथा वरिष्ठ परामर्शदाता डा. मनिषा आचार्यले सेवा दिएका थिए ।
लामो समयदेखि सन्तान प्राप्तिका लागि प्रयासरत दम्पतीले स्थानीयस्तरमै विशेषज्ञसँग परामर्श लिन पाउँदा सहज भएको बताएका छन् ।
चिकित्सकहरूले बाँझोपनको समस्या महिला र पुरुष दुवैको स्वास्थ्य अवस्थासँग जोडिने भएकाले समयमै आवश्यक परीक्षण तथा उपचार गराउन सुझाव दिएका छन् ।
सामान्य उपचारदेखि सहायक प्रजनन प्रविधिसम्मका विकल्पबारे जानकारी दिन शिविर प्रभावकारी भएको उनीहरूको भनाइ छ ।
इन्दिरा आईभीएफबाट उपचारपछि सन्तान प्राप्त गरेकी एक महिला आफ्ना दुई सन्तानसहित शिविरमा चिकित्सक भेट्न पुगेकी थिइन् । उनले उपचारबाट प्राप्त खुसी चिकित्सकसँग साटेकी थिइन् ।
अस्पतालले आगामी दिनमा पनि प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा तथा परामर्शलाई निरन्तरता दिने जनाएको छ ।


















