२१ भाद्र २०८३, आइतबार | Sun Sep 6 2026

क्षितिज नाट्य प्रतिष्ठानको नेतृत्वमा पुनः माधव कल्पित



बिर्तामोड-क्षितिज नाट्य प्रतिष्ठान, झापाको नवौँ महाधिवेशन तथा वार्षिक साधारण सभाले माधव कल्पितलाई पुनः अध्यक्षमा चयन गरेको छ। महाधिवेशनले नयाँ केन्द्रीय कार्यसमितिसहित साहित्य, नाट्य, संगीत, नृत्य, नौमती, योग-अध्यात्म तथा सांस्कृतिक, चलचित्रलगायत विभागको नेतृत्वसमेत चयन गरेको हो।

वरिष्ठ साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनको निर्वाचन प्रक्रिया झोराहाट, मोरङका रंगकर्मी तथा साहित्यकार प्रयागराज न्यौपानेको निर्वाचन अधिकृतत्वमा सम्पन्न भएको थियो। निर्वाचन समितिमा प्राध्यापक विमला पोखरेल र सञ्चारकर्मी तुलसीप्रसाद निरौला सदस्य थिए।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा हरिप्रसाद भण्डारी र सुजना खतिवडा, महासचिवमा गजेन्द्र पृथक, सचिवमा राजकुमार भट्टराई तथा कोषाध्यक्षमा मुना प्रसाईं चयन भएका छन्। सदस्यमा मदन रसाइली, युवराज चुडाल, राबित्रा राजवंशी, प्रितमकुमार धमला र भिमा खतिवडा निर्वाचित भएका छन्।

प्रतिष्ठानको साहित्य विभागको अध्यक्षमा तुलसीप्रसाद भट्टराई, उपाध्यक्षमा दुर्गाप्रसाद सिग्देल र महासचिवमा डिल्लीराम परदेशी चयन भएका छन्।

नाट्य विभागको अध्यक्षमा पूर्णिमा विश्वकर्मा, उपाध्यक्षमा सृष्टि आचार्य, महासचिवमा विवेक मिश्र, सचिवमा समीक्षा खतिवडा र कोषाध्यक्षमा दिपा शिवाकोटी निर्वाचित भएका छन्। सदस्यमा आर्जु पौड्याल, राकेश दर्नाल, सम्पदा राई र प्रज्वल भट्टराई चयन भएका छन्।

त्यस्तै, संगीत विभागको अध्यक्षमा माधवप्रसाद सिटौला र महासचिवमा सुजन शिवाकोटी तथा नृत्य विभागको महासचिवमा दिलकुमार लिम्बू चयन भएका छन्।

नौमती विभागको अध्यक्षमा देवीमाया प्रसाईं, योग–अध्यात्म तथा सांस्कृतिक विभागको संयोजकमा कुमार ढकाल, चलचित्र विभागको अध्यक्षमा सबिता रेग्मी, उपत्यका सम्पर्क समितिको अध्यक्षमा दिवाकर मानसिंह बस्नेत तथा अनुसन्धान तथा प्रशिक्षण विभागको अध्यक्षमा ताराप्रकाश भट्टराई चयन भएका छन्।

२०५८ सालमा स्थापना भएको प्रतिष्ठानले दुई दशकभन्दा लामो यात्रामा नेपाली रंगमञ्च तथा सांस्कृतिक क्षेत्रमा आफ्नो पहिचान बनाउँदै आएको छ।

सडक तथा मञ्च नाटक, सामाजिक सचेतना, साहित्य, संगीत र नृत्यका माध्यमबाट गतिविधि विस्तार गर्दै आएको संस्थाको केन्द्रीय कार्यालय बिर्तामोड-१ मा रहेको छ।

बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई समेट्ने उद्देश्यसहित प्रतिष्ठानले ‘झापा नाटक घर’ निर्माण अभियानसमेत अघि बढाएको छ।

‘एक इँटा अभियान’मार्फत सर्वसाधारणको सहभागिता जुटाउँदै आएको संस्थाले रंगमञ्चीय गतिविधिसँगै सांस्कृतिक पूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेको छ।

नयाँ कार्यसमिति चयनसँगै प्रतिष्ठानले नेपाली रंगमञ्च, साहित्य, संगीत, नृत्य, चलचित्र तथा मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धनलाई थप व्यवस्थित बनाउने जनाएको छ।

पुनः नेतृत्वमा आएका कल्पितका लागि भने आगामी कार्यकाल संस्थाको संस्थागत विकाससँगै झापा नाटक घर निर्माण अभियानलाई गति दिने चुनौतीपूर्ण अवसरका रूपमा देखिएको छ।

महाधिवेशन उद्घाटन कार्यक्रममा बिर्तामोड-३ का वडाध्यक्ष मदन बुढाथोकी, प्राध्यापक नवीन ओलीलगायतले शुभकामना मन्तव्य दिएका थिए। कार्यक्रममा स्वागत गजेन्द्र पृथकले गरेका थिए भने सञ्चालन तुलसीप्रसाद भट्टराईले गरेका थिए।

प्रकाशित मिति : २० भाद्र २०८३, शनिबार ००:००  ८ : ०९ बजे