२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

मलेसिया पठाउने २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का



काठमाडौं-सरकारले मलेसियामा श्रमिक पठाउने २५० वटा म्यानपावर कम्पनीको नयाँ पूर्वस्वीकृति तत्कालका लागि रोक्का गरेको छ । एफडब्लूसीएमएसमा ‘मुख्य श्रमिक भर्ना संस्था’ का रूपमा सूचीकृत २५ संस्थासँग आबद्ध वा सहयोगी रहेका म्यानपावरको पूर्वस्वीकृति रोकिएको हो ।

वैदेशिक रोजगार विभागका महानिर्देशक नवराज ढकालका अनुसार २५ मुख्य संस्थाको कारोबार, छनोटको आधार, मलेसिया रोजगारीमा विगतको संलग्नता तथा उनीहरूले अन्य संस्थालाई आबद्ध गराउँदा अपनाएको प्रक्रियामाथि छानबिन भइरहेको छ ।

ढकालका अनुसार २५० म्यानपावरसँग पनि एफडब्लूसीएमएसमा आबद्ध हुनुको आधार, अपनाइएको प्रक्रिया र मुख्य संस्थासँगको सम्बन्धबारे स्पष्टीकरण माग्ने प्रक्रिया अघि बढाइएको छ ।

छानबिन पूरा नहुँदासम्म ती संस्थाले मलेसियाका लागि नयाँ पूर्वस्वीकृति लिन पाउने छैनन् । तर, यसअघि नै श्रम स्वीकृति लिइसकेका श्रमिकको मलेसिया जाने प्रक्रियामा भने रोकावट नहुने विभागले जनाएको छ ।

समूहगत नियन्त्रण वा एकाधिकारमार्फत निष्पक्ष प्रतिस्पर्धा सीमित गरेको पाइए वैदेशिक रोजगार ऐनअनुसार कारबाही गरिने विभागले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार ००:००  १० : ४७ बजे