२८ भाद्र २०८३, आइतबार | Sun Sep 13 2026

जनशक्ति अभावमा तेह्रथुम अस्पतालको सिजेरियन सेवा बन्द



तेह्रथुम– जनशक्ति अभावमा तेह्रथुम जिल्ला अस्पतालको सिजेरियनमार्फत प्रसूति सेवा असार मसान्तदेखि बन्द भएपछि गर्भवती महिलालाई पाँच-छ घण्टा यात्रा गरेर धरान वा विराटनगर पुग्नुपर्ने बाध्यता भएको छ ।

जिल्लामै हुँदै आएको शल्यक्रिया सेवा बन्द भएपछि आकस्मिक सिजेरियन आवश्यक पर्ने गर्भवतीलाई अन्यत्र रेफर गर्नुपरेको अस्पतालले जनाएको छ । गत आर्थिक वर्षमा मात्रै अस्पतालमा ४४ जनाको सिजेरियन गरिएको थियो ।

करिब १० वर्षदेखि ‘निक साइमन’ संस्थाको सहयोगमा उपलब्ध चिकित्सकीय जनशक्ति परियोजना सकिएपछि सेवा प्रभावित भएको हो । संस्थाले एमडीजीपी चिकित्सक, मेडिकल अधिकृत, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, बायोमेडिकल टेक्निसियन र एनेस्थेसिया असिस्टेन्टसहित ६ जना जनशक्ति उपलब्ध गराउँदै आएको थियो ।

अस्पतालका प्रमुख डा. खड्ग लिम्बूले सिजेरियन सेवा पुनः सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न पहल भइरहेको बताए । तर सेवा कहिलेदेखि नियमित हुन्छ भन्ने टुंगो लागेको छैन ।

सेवा बन्द भएपछि तेह्रथुमसँगै छिमेकी संखुवासभाको धर्मदेवी र मादी क्षेत्रका गर्भवतीसमेत प्रभावित भएका छन् । महिला मानव अधिकारकर्मी टंकमाया लिम्बूले प्रसूति जस्तो संवेदनशील सेवा जिल्लामै तत्काल पुनः सञ्चालन गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार ००:००  १० : ५२ बजे