३ आश्विन २०८३, शनिबार | Sat Sep 19 2026

बाढीपीडितलाई ५१ हजार सहयोग गर्दै देवीभक्तको कृति विमोचन



झापा-साहित्य चौतारी बिर्तामोडले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको जन्मोत्सव तथा उनको पहिलो कविता सङ्ग्रह ‘देवीभक्तका सिर्जनाहरू’ विमोचनका अवसरमा साहित्य चौतारी र होटल हिकोला हेरिटेजको संयुक्त सहकार्यमा उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो ।

साहित्य, सङ्गीत र सामाजिक सेवासहित बिर्तामोडमा आयोजित कार्यक्रममा श्रेष्ठद्वारा लिखित कविता सङ्ग्रह र उनको जन्मदिनको शुभकामना गीत पनि सार्वजनिक गरिएको थियो । विमोचित कृतिको समीक्षा प्रा. डा. गंगाप्रसाद अधिकारीले गरेका थिए ।

पूर्वअध्यक्ष टंक विकल्पले श्रेष्ठको साहित्यिक तथा सामाजिक यात्राबारे चर्चा गरेका थिए । प्रमुख अतिथि महाकाव्यकार मित्रप्रसाद दाहाल, अर्जुनधारा जलेश्वर धामका मूल अर्चक अग्नीप्रसाद सिग्देल, अर्जुनधारा संस्कृत वेदविद्यापीठका प्राचार्य हेमन्त भण्डारीलगायतले श्रेष्ठलाई जन्मोत्सवको शुभकामना दिएका थिए ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक हिम्मत नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव तुलसीप्रसाद निरौलाले स्वागत गरेका थिए । सल्लाहकार शिरो सान्दाईले संस्था स्थापनादेखि हालसम्म दिवंगत भएका स्रष्टा, भोटेकोशी बाढीका मृतक तथा जेनजी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्राज्ञ सुमित्रा वाङ्देल चेली, अभिनन्दित साहित्यकार पुण्यप्रसाद खरेल, विन्दू दाहाल मुकदर्शक, सल्लाहकार हरिनारायण भट्टराई र अन्तर्राष्ट्रिय संयोजक डीएल प्रधानलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

साहित्यिक प्रस्तुतितर्फ ईलामे जेठो, लीला अनमोल, पदम अधिकारी, मीना अधिकारी, जमुना खरेल र गगन भट्टराईले रचना वाचन गरेका थिए । संस्कृत वेदविद्यापीठका छत्रपति गुरागाईंले आदिकवि मोतीराम भट्टको कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सांगीतिक चरणमा श्रेष्ठले राष्ट्रिय गीत तथा आफ्ना भक्तिभजन प्रस्तुत गरेका थिए । गायिकाद्वय ज्योति खाती, रक्षा तिम्सिना र रोहिका तिम्सिनाले उनलाई साथ दिएका थिए ।

पूर्वमहासचिव भानुभक्त कुभेण्डेलीले सञ्चालन गरेको कार्यक्रम साहित्यिक कृति विमोचनसँगै बाढीपीडितका लागि सहयोग जुटाउने सामाजिक अभियानका रूपमा समेत प्रस्तुत भएको थियो ।

प्रकाशित मिति : ३० भाद्र २०८३, मंगलबार ००:००  ८ : १६ बजे