१६ कार्तिक २०८३, आइतबार | Sun Nov 1 2026

कांग्रेस झापाको सभापतिमा कृष्ण हुमागाईँ निर्विरोध निर्वाचित



बिर्तामोड-नेपाली कांग्रेस झापाको सभापतिमा कृष्ण हुमागाईँ निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टीको १५ औँ नियमित महाधिवेशनअन्तर्गत आइतबार बिर्तामोडस्थित अग्रसेन भवनमा सम्पन्न जिल्ला अधिवेशनबाट हुमागाईँ सभापति चयन हुनुभएको हो ।

जिल्ला सचिवको जिम्मेवारीमा रहनुभएका हुमागाईँले यसअघि कोशी प्रदेश सम्मेलन, राष्ट्रिय सम्मेलन तथा जिल्ला अधिवेशन तयारी र आयोजक समितिको संयोजकका रूपमा काम गरिसक्नुभएको छ । पार्टी संगठनभित्र लामो समयदेखि सक्रिय उहाँले अब जिल्ला नेतृत्वको जिम्मेवारी सम्हाल्नुहुनेछ ।

१४ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट जिल्ला सचिव निर्वाचित हुमागाईँले त्यसअघि जिल्ला कार्यसमितिका विभिन्न जिम्मेवारी सम्हाल्नुभएको थियो । उक्त महाधिवेशनमा झापा जिल्ला कार्यसमितिका सबै पदमा सिटौला समूहका उम्मेदवार विजयी भएका थिए । पछि हुमागाईँ र सहसचिव कालेन्द्र राजवंशीबाहेकका जिल्ला पदाधिकारी विश्वप्रकाश शर्मा समूहमा आबद्ध भएका थिए ।

हुमागाईँ कांग्रेसको जिल्ला सदस्य, महाधिवेशन प्रतिनिधि तथा जिल्ला प्रचार विभाग प्रमुखको जिम्मेवारीमा समेत रहिसक्नुभएको छ । कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सदस्य र झापा जिल्ला अध्यक्षका रूपमा पनि उहाँले काम गर्नुभएको छ ।

पत्रकारितामा समेत लामो अनुभव हासिल गर्नुभएका हुमागाईँ नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वसभापति हुनुहुन्छ । उहाँले रेडियो नेपाल, राष्ट्रिय समाचार समिति (रासस), पूर्वाञ्चल दैनिक, लोकपत्र दैनिक, देशान्तर साप्ताहिकलगायत विभिन्न सञ्चारमाध्यममा संवाददातादेखि प्रधानसम्पादकसम्मको जिम्मेवारी सम्हाल्नुभएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा सक्रिय हुमागाईँ पटक–पटक हिरासतमा पर्नुभएको थियो । २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासनसत्ता आफ्नो हातमा लिएपछि उहाँले कांग्रेस नेता कृष्णप्रसाद सिटौलासँगै तीन महिना भारतमा निर्वासित जीवन बिताउनुपरेको थियो ।

निर्वासनमा रहँदासमेत उहाँले तत्कालीन शाही सत्ताले गरेको दमन, प्रेस स्वतन्त्रतामाथिको नियन्त्रण र मानव अधिकारको अवस्थाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा समाचार प्रवाह गर्नुभएको थियो । शाही शासनविरुद्धका प्रचार सामग्री तयार गरी छपाइ गरेर नेपाल पठाउने काममा समेत उहाँ सक्रिय रहनुभएको थियो ।

प्रेस स्वतन्त्रता र लोकतान्त्रिक आन्दोलनमा संघर्ष गरेको पृष्ठभूमि, स्पष्ट वक्ता तथा खरो वैचारिक बहस गर्ने नेताको छवि बनाउनुभएका हुमागाईँको निर्विरोध चयनसँगै झापा कांग्रेसको नेतृत्वमा नयाँ जिम्मेवारी थपिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, आइतबार ००:००  ७ : ०६ बजे