बिर्तामोड– नेकपा एमाले हल्दिबारीले नेपाली मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले दीपावलीको अवसरमा देउसीभैलो प्रतियोगिता आयोजना गर्ने भएको छ ।
प्रतियोगितामा हल्दिबारीका विद्यालय, संघसंस्था, युवा तथा महिला समूह, धार्मिक समूह र टोल समूहले डिजिटल माध्यमबाट सहभागिता जनाउन सक्नेछन् ।
बिहीबार गोलधापमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै एमाले हल्दिबारीका अध्यक्ष त्रिलोचन सापकोटाले स्थानीय प्रतिभाको पहिचान, लोकसंस्कृतिको जगेर्ना र सामाजिक सद्भाव प्रवर्द्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
प्रतियोगितामा सहभागी हुन प्रत्येक समूहमा कम्तीमा पाँचजना हुनु पर्नेछ । इच्छुक समूहले कात्तिक २५ गतेसम्म नाम दर्ता गराउनुपर्नेछ । देउसीभैलोको मौलिकता, लोकसंस्कृति, सामाजिक एकताको सन्देश, भेषभूषा र वाद्यवादनलाई मूल्यांकनको आधार बनाइने आयोजकले जनाएको छ ।
प्रतियोगी समूहले देउसी खेलेर तयार पारेको कम्तीमा पाँच मिनेटको भिडियो कात्तिक २९ गतेसम्म आयोजकले उपलब्ध गराएका ९८०४९०१६०० र ९८५२६७३१६९ नम्बरको ह्वाट्सएपमा पठाउनुपर्नेछ ।
भिडियो सम्पादन नगरिएको हुनुपर्नेछ । प्राप्त भिडियो विभिन्न मापदण्डका आधारमा मूल्यांकन गरी विजेता छनोट गरिने अध्यक्ष सापकोटाले बताए ।
प्रतियोगितामा प्रथम हुने समूहले २१ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, दुई समूहलाई पाँच-पाँच हजार रुपैयाँका दरले सान्त्वना पुरस्कार र सबै विजेतालाई प्रमाणपत्र प्रदान गरिनेछ ।
विजेता घोषणा तथा पुरस्कार वितरणको मिति पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनअघि स्थानीय पत्रकारसँग अन्तरक्रिया गरिएको थियो ।
अन्तरक्रियामा स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन, सञ्चार नीति निर्माण, लोककल्याणकारी विज्ञापनको वितरण र स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिनुपर्ने विषय उठाइएको थियो ।
ग्रामीण प्रेस क्लबका अध्यक्ष नेत्रविक्रम विमलीसहित पदाधिकारी तथा सदस्यहरूले स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धन, पत्रकारिताको व्यावसायिक विकास र सञ्चार क्षेत्रसँग राजनीतिक दलले गर्नुपर्ने सहकार्यका विषयमा सुझाव राखेका थिए ।
प्रेस चौतारी नेपाल झापाका अध्यक्ष प्रदीप परियारले एमालेले सञ्चार क्षेत्रसँग समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिए । उनले पार्टीलाई सञ्चारमैत्री बनाउन र स्थानीय सञ्चारमाध्यमको संस्थागत विकासमा सहयोग गर्न आग्रह गरे ।
एमाले नेता मोहन रेग्मीले देउसीभैलो प्रतियोगिता सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताउँदै सञ्चार क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।


















