काठमाडौं-समाचार कक्षबाटै पक्राउ गरिएका नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीसहितका पत्रकार रिहा भएका छन् । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रहरी नियन्त्रणमा रहेका सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन् ।
‘पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् । सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ,’ मन्त्री तिमिल्सिनाले भनेका छन्, ‘प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’
सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षबाटै सुवेदीलगायत पत्रकारलाई पक्राउ गरेका थिए । घटनापछि नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाललगायत निकायले विरोध जनाउँदै पत्रकारको रिहाइको माग गरेका थिए ।
पत्रकार पक्राउको घटनाप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आपत्ति जनाएको थियो । प्रधानमन्त्री बालेन्द्र शाहले पनि पक्राउ गरिएका पत्रकारलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए ।


















