१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

झापा महिला गोल्डकपमा रिङलक प्यारापिट, दुई हजार दर्शक क्षमता



बिर्तामोड– झापाको दुधे रङ्गशालामा मंसिर ५ गतेदेखि हुने दोस्रो झापा महिला गोल्डकपका लागि दुई हजार दर्शक क्षमताको आधुनिक अस्थायी प्यारापिट निर्माण गरिएको छ ।

शिवसताक्षीस्थित रङ्गशालाको पूर्वतर्फ रिङलक प्रविधिमा आधारित छ तहको प्यारापिट जडान गरिएको हो । गोल्डकपका अध्यक्ष सन्तोष थोप्राका अनुसार नेपालमा यो प्रविधिको प्यारापिट पहिलोपटक प्रयोग गर्न लागिएको छ ।

ग्याल्भनाइज्ड स्टिलका पाइप र प्लेटफर्मबाट तयार गरिएको प्यारापिट प्रतियोगितापछि फुकालेर अन्यत्र लैजान सकिन्छ । यसले स्थायी संरचना निर्माण नगरी आवश्यकताअनुसार दर्शकदीर्घा तयार गर्न सकिने सञ्चालक सुमन भण्डारीले बताए ।

रङ्गशालाको पश्चिमतर्फ स्थायी प्यारापिट छ भने उत्तर र दक्षिणतर्फ बाँसका अस्थायी प्यारापिट बनाउने तयारी छ । यस वर्ष टिकट, दर्शक प्रवेश तथा निकास, पार्किङ र सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पाउनेछन् । नेपाल, भारत र भुटानसहितका आठ टोली सहभागी हुने प्रतियोगिताको फाइनल मंसिर १२ गते हुने सचिवालय प्रमुख हिमाल खरेलले बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०८३, बिहिबार ००:००  ८ : १३ बजे