१० कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026

ग्यास बिक्रीमा भ्याट बिल अनिवार्य : नदिए कारबाहीको जोखिम



झापा– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) बिल दिन ग्यास उद्योगहरूलाई निर्देशन दिएको छ । ग्यास बिक्री गरेपछि उपभोक्तालाई बिलबिजक नदिने प्रवृत्तिबारे गुनासो बढेपछि निगमले यस्तो निर्देशन दिएको हो ।

निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार सबै ग्यास उद्योगलाई पत्राचार गर्दै आफ्ना डिलर तथा विक्रेतामार्फत ग्यास बिक्री गर्दा अनिवार्यरूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन भनेको छ ।

निगमले पत्रमा आफ्ना उद्योगबाट नियुक्त कतिपय विक्रेताले ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगरेको गुनासो आएको उल्लेख गरेको छ । त्यस्ता विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्न लगाई ग्यास बिक्री वितरणको व्यवस्था मिलाउन उद्योगहरूलाई आग्रह गरिएको छ ।

ग्यास बिक्री वितरणलाई व्यवस्थित बनाउन निगमले यसअघि पनि उद्योगहरूलाई आफ्ना डिलर तथा विक्रेताको नियन्त्रण र नियमन गर्न निर्देशन दिएको थियो । निगमले २०८१ साउन ३० र माघ १० गतेसमेत सम्बन्धित संघलाई पत्राचार गरेको स्मरण गराएको छ ।

ग्यास खरिद गर्दा बिल नपाउँदा उपभोक्ताले तिरेको रकमको आधिकारिक प्रमाण नपाउने र कारोबारमा पारदर्शिताको अभाव हुने जोखिम रहन्छ ।

अनिवार्य बिलको व्यवस्थाले ग्यास बिक्रीको अभिलेख राख्न, उपभोक्ता ठगी तथा कालोबजारीको जोखिम घटाउन र बजारमा पारदर्शिता कायम गर्न सहयोग पुग्ने निगमको अपेक्षा छ ।

निगमले पछिल्लो निर्देशनको बोधार्थ कार्यकारी निर्देशक र नायब कार्यकारी निर्देशक (बजार व्यवस्था) लाई समेत दिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८३, सोमबार ००:००  ७ : ०२ बजे