२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

निःशुल्क आँखा शिविरमा ४२१ जनाको परीक्षण



झापा– झापामा आयोजित निःशुल्क आँखा परीक्षण शिविरबाट ४२१ जना लाभान्वित भएका छन् । आँखाको स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने र सर्वसाधारणलाई सहज रूपमा परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले बुधबार शिविर आयोजना गरिएको हो ।

लायन्स क्लब अफ अनारमनी, लायन्स क्लब अफ कनकाई सुरुङ्गा, लायन्स क्लब अफ कनकाई दुर्गापुर, लायन्स क्लब अफ मेचीनगर र लायन्स क्लब अफ बिर्तामोड सिनर्जीको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको थियो ।

शिविरमा ४२१ जनाले आँखाको परीक्षण गराएका थिए । समुदायस्तरमै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदा सर्वसाधारणलाई आँखाको अवस्थाबारे जानकारी लिन र सम्भावित समस्या समयमै पहिचान गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ ।

लायन्स क्लब अफ अनारमनीका सचिव सृजन अधिकारीका अनुसार आँखाको नियमित परीक्षण गर्ने बानी विकास गर्नु र आँखाको स्वास्थ्यबारे जनचेतना फैलाउनु शिविरको मुख्य उद्देश्य थियो ।

आयोजक क्लबहरूले शिविर सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, स्वयंसेवक तथा अन्य सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि सामाजिक सेवा र जनस्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएका छन् ।

शिविर मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २८ आश्विन २०८३, बुधबार ००:००  ५ : ३९ बजे