२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

शिवसताक्षीमा १० करोड खर्चेर बनेको नगर अस्पतालबाट सेवा सुरु



शिवसताक्षी-झापाको शिवसताक्षी नगरपालिकामा १० करोड ६७ लाख रुपैयाँ खर्चेर निर्माण गरिएको १५ शय्याको नगर अस्पतालबाट सोमबारदेखि स्वास्थ्य सेवा सुरु भएको छ । शिवसताक्षी-६ मा निर्माण सम्पन्न अस्पतालबाट सेवा थालिएसँगै स्थानीय नागरिकले नगरभित्रै उपचार पाउने भएका छन् ।

यसअघि शिवगञ्ज स्वास्थ्य केन्द्रबाट प्रदान हुँदै आएको सेवा नवनिर्मित अस्पतालमा सारिएको हो । अस्पताल सञ्चालनमा आए पनि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन पूरा भइनसकेकाले तत्कालै पूर्ण क्षमतामा सेवा दिन भने कठिनाइ रहेको नगरपालिकाले जनाएको छ ।

करिब डेढ बिघा क्षेत्रफलमा निर्माण गरिएको अस्पतालमा हाल दुई जना सामान्य चिकित्सकले सेवा दिइरहेका छन् । प्रयोगशाला र प्रसूति सेवा पनि सञ्चालनमा आइसकेका छन् । आकस्मिक उपचारका लागि आवश्यक पूर्वाधार तयार भए पनि केही सामग्री आउन बाँकी रहेकाले सेवा सुरु हुन सकेको छैन ।

अस्पतालका चिकित्सक पंकजकुमार रामका अनुसार आकस्मिक सेवा छिट्टै सञ्चालनमा ल्याउने तयारी छ । अस्पतालमा एक्सरेलगायतका स्वास्थ्य उपकरण थप गर्नुपर्ने भएकाले सेवा विस्तारको काम क्रमिक रूपमा अघि बढाइनेछ ।

नगरप्रमुख मेगाहाङ थोप्राले आवश्यक उपकरण, विशेषज्ञ चिकित्सक र प्राविधिक जनशक्ति थप गर्दै अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

सामान्य उपचारका लागि समेत नगरबाहिरका अस्पताल धाउनुपर्ने अवस्थालाई कम गर्दै स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु नगरपालिकाको उद्देश्य रहेको उहाँको भनाइ छ ।

नगर अस्पतालको भवन निर्माण सम्पन्न भएर सेवा सुरु भए पनि यसको प्रभावकारिता आवश्यक स्वास्थ्य उपकरण, जनशक्ति र सेवाको उपलब्धतामा निर्भर हुनेछ ।

आकस्मिक उपचार, परीक्षण तथा विशेषज्ञ सेवासमेत विस्तार हुन सके शिवसताक्षी र आसपासका क्षेत्रका नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८३, सोमबार ००:००  ९ : ०३ बजे