झापा-बुद्धशान्ति गाउँपालिका-२ साम्पाङटोलमा जङ्गली हात्तीको आक्रमणबाट ५६ वर्षीय डिल्लीबहादुर पौडेल गम्भीर घाइते भएका छन् ।
शुक्रबार बिहान करिब ६ः१० बजे घरबाट बुधबारे बजारतर्फ आउँदै गरेका पौडेललाई भित्री सडकखण्डमा हात्तीले आक्रमण गरेको हो ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
आक्रमणपछि हात्ती तीनतले सामुदायिक वनतर्फ गएको छ । पछिल्लो समय जङ्गली हात्तीको गतिविधि बढ्दै गएपछि स्थानीय बासिन्दामा जोखिम बढेको छ ।
जिल्ला प्रशासन कार्यालयले हात्ती आवतजावत गर्ने मार्ग तथा सामुदायिक वन आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । सुरक्षा निकायले माइकिङमार्फत सावधानी अपनाउन सूचना प्रवाह गरिरहेको जनाएको छ ।


















