बिर्तामोड– बडादसैँको उल्लासलाई संगीतसँग जोड्दै झापाको बिर्तामोडमा असोज ३० गते ‘जमरा एण्ड द बिट्स’ सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । डिजी भेन्ट्सको आयोजनामा हुने कार्यक्रममा र्यापर जेमसी, दि फिरन्ते ब्याण्ड र केयरसिंह लुङ्गाले प्रस्तुति दिनेछन् ।
चाडपर्वको समयमा राष्ट्रियस्तरका कलाकारको प्रत्यक्ष प्रस्तुति हेर्न चाहने दर्शकलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममार्फत बिर्तामोडको सांगीतिक गतिविधिलाई थप चलायमान बनाउने र स्थानीय दर्शकलाई मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखिएको छ ।
आयोजक जीवन भण्डारीका अनुसार कार्यक्रम मनोरञ्जनमा मात्र सीमित रहने छैन । चाडपर्वको उत्सवलाई सामाजिक कार्यसँग जोड्ने उद्देश्यसमेत आयोजकले लिएको छ ।
‘चाडपर्वमा गीत-संगीतलाई पनि जोड्नुपर्छ । राष्ट्रिय कलाकार ल्याएर बिर्तामोडका दर्शकलाई मनोरञ्जन दिने हाम्रो उद्देश्य हो,’ भण्डारीले भने, ‘कार्यक्रमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक कार्यसँग पनि जोड्न चाहन्छौँ ।’
आयोजकले कार्यक्रममा करिब तीन हजार दर्शक सहभागी हुने अपेक्षा गरेको छ । दर्शकको सहभागिता र रुचिलाई ध्यानमा राख्दै टिकटको मूल्य एक हजार, एक हजार पाँच सय र दुई हजार रुपैयाँ निर्धारण गरिएको आयोजक रोहन पोखरेलले जानकारी दिए । उनका अनुसार बिर्तामोडका विभिन्न क्याफेबाट समेत टिकट खरिद गर्न सकिनेछ ।
कार्यक्रममा फरक सांगीतिक विधाका कलाकारको प्रस्तुति रहने भएकाले युवा पुस्तासहित विभिन्न उमेर समूहका दर्शकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ । बडादसैँको अवसरमा साथीभाइ तथा परिवारसँग सांगीतिक माहोलमा रमाउन चाहनेका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो ।
बिर्तामोडमा पछिल्लो समय सांगीतिक कार्यक्रमप्रति बढ्दो आकर्षणलाई ध्यानमा राख्दै आयोजना हुन लागेको ‘जमरा एण्ड द बिट्स’ ले स्थानीय मनोरञ्जन क्षेत्रलाई थप सक्रिय बनाउने अपेक्षा गरिएको छ ।


















