१५ कार्तिक २०८३, शनिबार | Sat Oct 31 2026

भद्रपुरमा शुक्रबारदेखि अन्तर्राष्ट्रिय हक्की, विजेतालाई दुई लाख



भद्रपुर-युवालाई दुर्व्यसनबाट जोगाउँदै खेलकुदमा आकर्षित गर्ने उद्देश्यले झापाको भद्रपुरमा शुक्रबारदेखि प्रथम अन्तर्राष्ट्रिय हक्की प्रतियोगिता आयोजना हुने भएको छ ।

भद्रपुर-९ स्थित पुहाँतु जनज्योति माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

भद्रपुर नगर हक्की सङ्घले पत्रकार सम्मेलन गरी प्रतियोगिताका लागि खेलमैदान मर्मत, प्राविधिक व्यवस्थापन, दर्शकका लागि बाँसको प्याराफिट निर्माण तथा विभिन्न स्थानमा स्वागतद्वार र ब्यानर राख्ने काम पूरा भएको जानकारी दिएको हो ।

प्रतियोगितामा भारतका तीन, विभागीय तीन, कोशी, गण्डकी र कर्णाली प्रदेशका एक-एक तथा आयोजकको एक गरी १० टोली सहभागी हुनेछन् । छिमेकी मुलुक बङ्गलादेशबाट समेत टोली ल्याउने प्रयास गरिए पनि प्राविधिक कारणले सफल हुन नसकेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ नगदसहित सिल्ड र मेडल प्राप्त गर्नेछ भने उपविजेताले एक लाख रुपैयाँसहित सिल्ड र मेडल पाउनेछ । तेस्रो हुने टोलीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

विजेताको पुरस्कार ओमसाई पाथीभरा अस्पतालका अध्यक्ष दीपक पोखरेल, उपविजेताको पुरस्कार झापा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष राजकुमार राई र तेस्रो पुरस्कार खेलप्रेमी सागर मिश्रले सौजन्य गरेका छन् ।

भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले हक्कीको क्षेत्रमा भद्रपुरले नेपालमै गौरव गर्न लायक स्थान कायम गरेको बताए । हक्की खेलको विकास र प्रवर्द्धनमा नगरपालिका संवेदनशील र गम्भीर रहेको उल्लेख गर्दै उनले आगामी आर्थिक वर्षदेखि यस क्षेत्रमा लगानी बढाउने बताए ।

झापा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष तथा युवा उद्यमी राईले युवालाई दुर्व्यसनबाट जोगाउन खेलकुदमा सहभागी गराउनुपर्नेमा जोड दिए ।

खेलकुदको विकास र विस्तारका लागि तीनै तहका सरकारले गम्भीरतापूर्वक चासो दिनुपर्ने बताउँदै उनले खेल क्षेत्रको प्रवर्द्धनमा सामाजिक सङ्घसंस्थाको भूमिका पनि उत्तिकै प्रभावकारी हुनुपर्ने आवश्यकता औँल्याए ।

प्रतियोगिताका सल्लाहकार अनिल ढुंगानाले युवालाई लागुऔषधको दुर्व्यसनबाट जोगाउँदै खेलकुदमा समर्पित गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

प्रतियोगिताका माध्यमबाट हक्कीमा आबद्ध युवाले सुरक्षा निकायका विभिन्न तहमा रोजगारीसमेत प्राप्त गरेको उनले जानकारी दिए ।

भद्रपुर नगर हक्की सङ्घका अध्यक्ष सरोजकुमार बस्नेतले प्रतियोगिता सम्पन्न गर्न करिब ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए ।

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूह मुख्य प्रायोजक रहेको प्रतियोगिताका लागि भद्रपुर नगरपालिका, कोशी प्रदेश सरकार, कोशी प्रदेश खेलकुद विकास बोर्ड, झापा जिल्ला खेलकुद विकास समिति, पर्यटन कार्यालयलगायतले सहयोगको प्रतिबद्धता जनाएका छन् ।

प्रतियोगितालाई खेलमा मात्र सीमित नराखी आन्तरिक पर्यटन प्रवर्द्धन र मनोरञ्जनसँग जोड्ने उद्देश्यले सांगीतिक कार्यक्रमसमेत राखिएको छ ।

उद्घाटन समारोहमा राष्ट्रिय कलाकार डम्बर नेपाली, दोस्रो दिन अशोक दर्जी र समापनका दिन श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ ले प्रस्तुति दिने आयोजकले जनाएको छ । कार्यक्रममा स्थानीय कलाकार तथा विभिन्न विद्यालयका विद्यार्थीले समेत सांगीतिक प्रस्तुति दिनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शुक्रबार ००:००  ७ : ०४ बजे