झापा– स्थानीय तहको आगामी पाँच वर्षको विकास योजना कस्तो बनाउने भन्ने विषयमा युवाको दृष्टिकोण संकलन गर्न नेकपा एमाले बाह्रदशी गाउँ कमिटीले ‘विकास-विचार प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
‘समृद्ध बाह्रदशी निर्माणका लागि एकीकृत योजनासहितको साझा दृष्टिकोण’ नारासहित आयोजना हुने प्रतियोगिताको मुख्य विषय ‘बाह्रदशी विकासका लागि पाँच वर्षे दृष्टि’ राखिएको छ ।
एमाले बाह्रदशीका अध्यक्ष अनिल सापकोटाका अनुसार गाउँ कमिटीको आठौँ पूर्ण बैठकबाट पारित कार्ययोजनाअनुसार प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
स्थानीयस्तरका समस्या पहिचान गरी तिनको व्यावहारिक समाधान र आगामी पाँच वर्षमा बाह्रदशीको विकासको खाका युवाबाटै प्राप्त गर्ने उद्देश्य रहेको उनले बताएका छन् ।
प्रतियोगितामा कृषि आधुनिकीकरण, शिक्षा तथा सीप विकास, स्वास्थ्य, रोजगारी तथा उद्यमशीलता, पूर्वाधार, पर्यटन, डिजिटल सेवा, युवा तथा खेलकुदलगायत १२ क्षेत्र समेटिएका छन् ।
सहभागीले यीमध्ये कुनै एक वा एकभन्दा बढी क्षेत्र रोजेर अवधारणा प्रस्तुत गर्न सक्नेछन् । प्रस्तुतिमा समस्या के हो, समाधान कसरी गर्ने र पाँच वर्षमा बाह्रदशीलाई कस्तो बनाउने भन्ने स्पष्ट खाका समेटिनुपर्ने आयोजकले जनाएको छ ।
पाँच मिनेटको भिडियोबाट सहभागिता
बाह्रदशी गाउँपालिकाका स्थायी बासिन्दा वा त्यहाँ अध्ययन, पेसा तथा व्यवसाय गरिरहेका १३ देखि ४० वर्ष उमेर समूहका युवा प्रतियोगितामा सहभागी हुन पाउनेछन् । सरकारी तथा शिक्षण पेसामा कार्यरत व्यक्ति भने सहभागी हुन नपाउने आयोजकले जनाएको छ ।
इच्छुकले बढीमा पाँच मिनेटको भिडियो प्रस्तुति तयार गरी २०८३ असोज २३ गते दिउँसो ४ बजेसम्म आयोजकले तोकेको ह्वाट्सएप नम्बर ९८०१४४४७०१९ मा पठाउनुपर्नेछ ।
प्राप्त भिडियोमध्ये आन्तरिक मूल्याङ्कनबाट ४० वटा उत्कृष्ट प्रस्तुति छनोट गरिनेछ । ती प्रस्तुति असोज २५ गते घटस्थापनादेखि ‘नेकपा एमाले बाह्रदशी’को आधिकारिक फेसबुक पेजमार्फत क्रमशः सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
त्यसपछि सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र सेयर तथा विज्ञहरूको मूल्याङ्कनलाई समेत आधार बनाएर प्रतियोगिताको अर्को चरणका लागि सहभागी छनोट गरिनेछ । छनोट भएका प्रतियोगीलाई अभिमुखीकरण शिविर तथा कार्यशालामा सहभागी गराइनेछ ।
प्रतियोगिताको अन्तिम चरण मंसिरको पहिलो साता राजगढस्थित एभरेष्ट डिजिटल सिनेमा हलमा गर्ने तयारी छ ।
प्रथम हुनेले २५ हजार रुपैयाँ, द्वितीयले १५ हजार र तृतीयले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । थप सात जना प्रतियोगीलाई जनही ५ हजार रुपैयाँ सान्त्वना पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
एमाले बाह्रदशीले प्रतियोगितालाई युवाको सिर्जनात्मक सोच र स्थानीय अनुभवलाई विकाससम्बन्धी बहस तथा नीति निर्माणसँग जोड्ने प्रयासका रूपमा अघि सारेको जनाएको छ ।
युवाको दृष्टिकोणबाट स्थानीय समस्या, सम्भावना र समाधानका उपायबारे बहस सुरु गर्ने उद्देश्य रहेको अध्यक्ष सापकोटाले बताएका छन् ।



















