बिर्तामोड- सुत्केरी ‘सिकिस्त’ प्रकरणमा झापा बिर्तामोडको मनमोहन अस्पताल पीडित परिवारलाई ३५ लाख रुपैयाँ क्षतिपूर्ति दिन सहमत भएको छ । सोमवारदेखि श्रृङ्खलावद्ध भएका वार्ता र छलफलपछि अन्तत पीडित परिवारलाई ३५ लाख रुपैयाँ दिने सहमति भएको हो ।
प्रसुतिका लागि भर्ना भएकी आफ्नै अस्पतालकी स्टाफ झापा बिर्तामोड-१ की २७ वर्षीया सिर्जना सङ्ग्रौलाको उपचारमा लापरवाही गरेको जनाउँदै पीडित परिवारले अस्पताल प्रशासनविरुद्ध आन्दोलन सुरु गरेको थियो ।
आन्दोलनपछि सोमवारराति १२ बजे सकिएको वार्तामा पीडित परिवारलाई २० लाख रुपैयाँ क्षतिपूर्ति दिने, नवजात शिशुलाई १२ कक्षासम्म राम्रो विद्यालयमा पढाउने र सिर्जनाको उपचारमा लागेको खर्च मनमोहन अस्पतालले व्यहोर्ने सहमति भएको थियो ।
तर, मंगलवार बिहान पीडित पक्ष लिखित सहमति गर्न नआएपछि अनेकथरि समाचार सार्वजनिक भएका थिए । मंगलवार अपरान्ह सकिएको वार्ता र छलफलमा अस्पतालले पीडित परिवारलाई ३५ लाख रुपैयाँ दिने सहमति गरेको सुत्केरी सिर्जना संग्रौलाका काका हेमराज संग्रौलाले जानकारी दिए ।
सिर्जना मनमोहनको कर्मचारी समेत भएकोले २० लाख रुपैयाँ राहत र बच्चाको शिक्षा, स्वास्थ्यका लागि १५ लाख रुपैयाँ दिने सहमति भएको उनले बताए ।
कहाँ छिन् सिर्जना
प्रसुतिका लागि भर्ना भएकी सिर्जनाको शल्यक्रिया सफल भएको थियो । तर, प्रेसर बढेर नशा फुटेपछि मस्तिष्कमा रगत जमेको हुनसक्ने आशंकामा मनमोहन अस्पतालले उनलाई बिर्तासिटी अस्पताल पठायो ।
परिवारका अनुसार उनको बिर्तासिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ । तर, परिवारका सदस्य र आफन्तले भिडियो र सामाजिक सञ्जालमार्फत सोमवार नै सिर्जनाको मृत्युको खबर सार्वजनिक गरेका थिए । जुन भिडियोहरुमा उनीहरुले बोलेको प्रष्ट सुन्न सकिन्छ । आफन्तका फेसबुक पोस्टहरु पनि सामाजिक सञ्जालमा छन् ।
पत्रकारले मागे माफी
परिवारका सदस्य र आफन्तले भिडियो र सामाजिक सञ्जालमार्फत सिर्जनाको मृत्युको खबर सार्वजनिक गरिरहँदा त्यसलाई पछ्याएका सञ्चारमाध्यम अन्तत माफी माग्न बाध्य भएका छन् ।
आखिर के लागि थियो आन्दोलन र वार्ता ? भन्ने संशयका बीच सिर्जनाको मृत्यु भएको भनी आएका समाचारमा सञ्चारमाध्यमले माफी मागेका हुन् ।
पीडित र प्रभावितको संवेदनशीलतालाई ध्यानमा राखेर आफूहरु एक कदम पछाडि हटेको पत्रकारहरुको प्रतिक्रिया छ । सोमवार राति भएको तीन बूँदे सहमति हातमा बोकेर बसेका कतिपय पत्रकारले घटनालाई थप प्रभावित पार्न चाहेनन् ।
चिन्ताजनक छ सिर्जनाको अवस्था
मंगलवार सिर्जनाका आफन्तले सार्वजनिक गरेका भनाइहरुका आधारमा सिर्जनाको अवस्था चिन्ताजनक छ । बिर्ता सिटी अस्पतालको भेन्टिलेटरबाट उनलाई निकाल्ने अवस्था छैन् ।
मंगलवार भएको सहमति अनुसार सिर्जनाको सबै उपचार खर्च मनमोहन अस्पतालले व्यहोर्छ, अर्थात बिर्ता सिटी अस्पतालमा उठेको सबै विल मनमोहन अस्पतालले तिर्नेछ ।
के ब्रेकिङका नाममा पत्रकार चुकेका हुन् ?
आफन्त र वार्तामा बसेका सरोकारवालाको स्रोतसहित आएका समाचारमा सिर्जनाको मृत्यु भइसकेको विषय थियो । सोमवारराति भएको वार्तामा २० लाख कम्पन्सेसन दिने सहमति भइरहँदासम्म सिर्जनाको मृत्यु भएको धेरैको बुझाई थियो ।
तर, मंगलवार बिहान आफन्तले सिर्जनाको मृत्यु नभएको, उनी उपचारमा रहेको र अस्पताल प्रशासनसँग कुनै लिखित सहमति नभएको जनाएपछि एकाएक सामाजिक सञ्जाल पत्रकारमाथि खनियो । लगत्तै पत्रकारले आफ्ना समाचार सच्याएर माफी मागे ।
आज १० लाखको चेक, बाँकी रकम असोजभित्र दुई किस्तामा
अस्पताल प्रशासनले मंगलवार क्षतिपूर्तिवापत १० लाख रुपैयाँको चेक दिएको छ । बाँकी रकम असोजभित्र दुई किस्तामा दिने सहमति भएको छ । सोमवार भएको सहमतिलाई निरन्तरता दिँदै प्याकेजमा थप सहमति गरिएको वार्तामा सहभागी नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।