१ श्रावण २०८२, बुधबार | Wed Jul 16 2025

वीरता लेडी जेसीजद्वारा पहिलो महिला रिक्सा चालकलाई सहयोग



बिर्तामोड– वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग हस्तान्तरण गरेको छ ।

बिर्तामोडको महानन्द चोकमा शनिबार आयोजित कार्यक्रमका बीच धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका सफाई सामग्री र नगद सहयोग गरिएको हो ।

जीवन गुजारा चलाउन सङ्घर्ष गर्दागर्दै बिर्तामोडको सडकमा रिक्सा कुदाएर देशव्यापी ख्याति कमाएकी फूलमाया यतिबेला गुमनाम जस्तै छिन् ।

हिजोको सीप, क्षमता र आँट बुढ्यौलीले ओझल पार्दै लगेका बेला लेडी जेसीजले सहायताका लागि धिमाललाई सम्झिएको हो ।

समुदायमा जेसीज : शुभ दिन, शुभ कार्य अन्तर्गत नेपालको पहिलो महिला रिक्सा चालक धिमाललाई खाद्यान्न, लत्ता कपडा र नगद सहयोग गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताउनुभयो ।

अध्यक्ष ओलीका अनुसार धिमाललाई तीन बोरा चामल, १० लिटर तेल, नुन, मसला, एक बोरा मुरइ, ब्ल्याङ्केट, लत्ता कपडा, घरायसी प्रयोजनका सरसफाई सामग्री र नगद आठ हजार रुपैयाँ प्रदान गरिएको छ ।

अर्जुनधारा वडा नम्बर-६ का अध्यक्ष हरिश्चन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यमा धिमाललाई सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्तोलाले सामाजिक उत्तरदायित्व अन्तर्गतका अभियानमा लेडी जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका कानुनी सल्लाहकार सिनेटर नरेशचन्द्र ओझा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुभएको छ ।

लेडी जेसीजकी सहसचिव एलिना रिजालको संयोजकत्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष संगीता चिमरिया र निवर्तमान अध्यक्ष संगीता गिरी लगायतले बोल्नुभएको थियो ।

उपाध्यक्ष कविता ओलीले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव मुना ढुंगेलले गर्नुभएको थियो ।

वीरता लेडी जेसीजले सरस्वती पूजाको अवसरमा भर्ना हुन आएका नयाँ नानीबाबुहरूलाई अर्जुनधारा-६ स्थित बालकल्याण आधारभूत विद्यालयमा गएर प्रोत्साहन स्वरूप शैक्षिक सामग्री वितरण गरेको थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार ००:००  ४ : ४९ बजे