१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

कांग्रेस वडा समितिद्वारा १० जना सम्मानित



बिर्तामोड- नेपाली कांग्रेस बिर्तामोड ५ नम्बर वडा समितिले १० जना ब्यक्तित्वलाई सम्मान गरेको छ । वडा समितिद्वारा बुधवार आयोजित कार्यक्रमका बीच सम्मान गरिएको हो ।

नयाँ बर्ष २०८१ को अवसरमा शुभकामना आदान–प्रदान, भित्ते पात्रो विमोचन एवम् सम्मान कार्यक्रम एकसाथ आयोजना गरिएको छ ।

सम्मानित हुनेमा नेपाल प्रेस युनियन केन्द्रीय समितिका सचिव रेजिना गौतम, देवीप्रसाद तिम्सिना, यसोदा ओली, गणेशप्रसाद सिटौला, चन्द्र कट्टेल, खड्गप्रसाद सिटौला, डिल्ली प्रसाई, विष्णुबहादुर राई मुन्ना, पवित्रा तामाङ र चन्द्रबहादुर सापकोटा रहेका छन् ।

सञ्चार क्षेत्रबाट सामाजिक रुपान्तरण एवम् राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै बिर्तामोडबाट प्रकाशित जनआन्दोलन डटकमका सम्पादक एवम् नारी सञ्चार गृहका अध्यक्ष समेत रहेकी गौतमलाई सम्मान गरिएको हो ।

वडा समितिले लामो समयसम्म राजनीतिमा सक्रिय एवम् राजनीतिमा लागेका कारण पीडित बन्नु परेका अग्रज राजनीतिकर्मी तथा शिक्षा र सामाजिक सेवामा महत्वपूर्ण योगदान गरेका विभिन्न क्षेत्रका अग्रज महानुभावलाई पनि सम्मान गरेको छ ।

सम्मानित सबैलाई कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य मिरा खड्का, महासमिति सदस्यहरु जलकुमार गुरुङ र सीता पौडेल, नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाई, नेपाली कांग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौला लगायतले मन्तब्य राखेका थिए ।

वडा सभापति दीपक मेनेङ्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपसभापति सुष्मा पौडेल र सञ्चालन उपसभापति खगेन्द्र प्रसाई तथा सचिव राजेश नेपालले संयुक्त रुपमा गरेका थिए ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार ००:००  ७ : ०४ बजे