भद्रपुर-महिला तथा बालबालिका बेचबिखनको जोखिम थपिँदै गएको छ । झापाका सीमावर्ती नाका हुँदै महिला तथा बालबालिकालाई भारत लैजानै गिरोह थप सक्रिय भएको हो ।
सीमावर्ती नाकाबाट प्रहरीको आँखा छलेर महिला तथा बालबालिकालाई भारत लैजाने गरिएको छ । आर्थिक वर्ष २०७९–८० मा मात्रै सीमा पार गराउन लागेको अवस्थामा ५१७ जना महिला तथा बालबालिकालाई नाकाबाट उद्धार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक महेन्द्र पराजुलीका अनुसार अघिल्ला दुई आर्थिक वर्षको तुलनामा सीमा नाकाबाट उद्धार गरिएका महिला तथा बालबालिकाको यो संख्या धेरै हो । अघिल्लो वर्ष ३९३ जनाको उद्धार गरिएको थियो ।