१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

पहिलो महिला धावक राउतलाई उत्कृष्ट नारी सम्मान



बिर्तामोड- वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबले एथलेटिक्सबाट ओलम्पिक खेलकुद प्रतियोगितामा नेपालबाट भाग लिने पहिलो महिला धावक मेनुका राउतलाई उत्कृष्ट नारीका रुपमा सम्मान गरेको छ ।

झापाको बिर्तामोडमा मंगलवार आयोजित समारोहका बीच राउतलाई सम्मान गरिएको हो । खेलकुदको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको योगदानको कदरस्वरुप राउतलाई यसवर्षको उत्कृष्ट नारी सम्मान प्रदान गरिएको वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लवकी अध्यक्ष कञ्चना सिटौलाले बताइन् ।

मेचीनगर ७ निवासी राउतले सन् १९८८ मा दक्षिण कोरियाको राजधानी सिओलमा आयोजना भएको विश्व ओलम्पिकमा नेपालको राष्ट्रिय ध्वजावाहक खेलाडी भएर सगौरव भाग लिएकी थिइन् । कोसी प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जिल्ल समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्का, मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी लगायतको आतिथ्य रहेको थियो । ११४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर राउतलाई उत्कृष्ट नारीको सम्मान प्रदान गरिएको हो ।

२०२१ देखि वीरता लेडी जेसीजले पूर्व अध्यक्ष क्लबमार्फत उत्कृष्ट नारी सम्मानको कार्यक्रम सुरु गरेको पूर्व अध्यक्ष स्वस्तिका आचार्यले बताइन् । उनले महिलाहरु पर्दा पछाडिको हिरो मात्र नभएको भन्दै अब फ्रन्टमा आउने बेला भएको जनाइन् ।

पूर्व अध्यक्ष क्लबको आयोजना र झापाका करिब ५० भन्दाबढी महिला संघ संस्थाको सह आयोजनामा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले स्वागत गरेकी थिइन् । गतवर्ष नागरिक उड्डयनको क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेकी महिला पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान २०७९ द्वारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार ००:००  ३ : ५३ बजे