बिर्तामोड-जिल्ला प्रहरी कार्यालय झापाले एक महिनाको अवधिमा २६ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतले दोषी ठहर गरेका ती अभियुक्त विभिन्न ठाउँबाट पक्राउ परेका हुन् ।
अदालतको फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले मातहतका प्रहरी कार्यालयहरूसँग समन्वय गरी २६ जना प्रतिवादीलाई पक्राउ गरेको हो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले विभिन्न मितिको फैसला अनुसार आपराधिक घटनाका फरार अभियुक्तलाई प्रहरीले तीव्र रुपमा खोजी गरिरहेको बताए ।
प्रहरीले फरार अभियुक्त पक्राउ गरी उनीहरूबाट ५० लाख ४२ हजार सात सय ७७ रुपैयाँ जरिवाना असुल गरेको छ । पक्राउ परेका ती अभियुक्तले अदालतले तोके बमोजिम जम्मा १८ वर्ष ४ महिना २३ दिन कैद सजाय भुक्तान गर्ने छन् ।


















