२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

मेची डाँडामा बाँडियो नक्कली धनीपूर्जा : यसरी समातिए मुख्य आरोपी



काँकडभिट्टा– झापाको मेचीनगर-६ मेची डाँडाका स्थानीयलाई नक्कली जग्गाधनी प्रमाण पूर्जा दिइएको खुलेको छ । स्थानीय दुई व्यक्तिले प्रतिव्यक्ति १० हजारदेखि ७० हजार रुपैयाँसम्म लिएर नक्कली धनीपूर्जा बाँडेका हुन् ।

ऐलानी जग्गाको नक्कली धनीपूर्जा बाँडिएको सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले घटनामा संलग्न थप एक जनाको खोजी भइरहेको जनाएका छन् ।

प्रहरीका अनुसार घटनामा संलग्न मेचीनगर-६ का ७५ वर्षीय भूपध्वज दाहाल फरार छन् । प्रहरीले स्थानीय ७३ वर्षीय ज्ञानबहादुर गिरीलाई भने पक्राउ गरेको छ ‌।

पीडितले दिएको जाहेरीका आधारमा नक्कली धनीपूर्जा वितरणमा संलग्नहरुको खोजी सुरु भएको थियो । ठगीमा संलग्न उपर कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा पीडितले निवेदन दिएका थिए ।

प्रशासनको आदेशमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरी अदालतमा पेश गरेको छ ‌। प्रहरी प्रवक्ता डीएसपी रिजालका अनुसार घटनाका सातजना पीडित सम्पर्कमा छन् ।

निवेदनमा आउने क्रम जारी रहेको जनाउँदै प्रहरीले पीडितको संख्या ६० जनाको हाराहारीमा रहेको जानकारी दिएको छ । प्रहरीका अनुसार आरोपीले रातो मसीले सहीछाप समेत गरी नक्कली जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरेका थिए । ‌

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार ००:००  ९ : १५ बजे