झापा- बिर्तामोड उद्योग बाणिज्य संघको अध्यक्ष पदका उम्मेद्वार राजु न्यौपानेले बिर्तामोडलाई औद्योगिक तथा ब्यवसायिक हब (मुख्य क्षेत्र) का रुपमा विकास गर्ने योजना अघि सारेका छन् । उनले बिर्तामोडको औद्योगिक तथा व्यवसायिक क्षेत्रको ‘रोड म्याप’ मार्गचित्र तयार गरेको जनाएका छन् ।
बिर्तामोड औद्योगिक करिडोरको अवधारणालाई कार्यान्वयनमा ल्याउन आफू लागिपरेको न्यौपानेको दावी छ । अनियन्त्रित कर वृद्धि तथा दोहोरो करका कारण व्यवसायी समस्यामा परेको जनाउँदै न्यौपानेले त्यसविरुद्ध संघर्ष गर्दै आएको बताए ।
बिर्तामोडमा देखिएको पार्किङको समस्या दीर्घकालिन रुपमा समाधानका लागि पहल गर्ने न्यौपानेको प्रतिवद्धता छ । उनले फोहोर ब्यवस्थापनका लागि समेत जोड दिने बताएका छन् । रात्रिकालिन बजार सञ्चालनमा ल्याउन जोड दिँदै त्यसका लागि आबश्यक सुरक्षा व्यवस्था मिलाउन पहल गर्ने उनको योजना छ ।
आफू अध्यक्षमा निर्वाचित भए व्यवसाय सञ्चालनमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्ने वातावरण मिलाउने जनाउँदै उनले बिर्तामोड उद्योग वाणिज्य संघलाई पेपरलेस कार्यालयका रुपमा विकास गर्ने योजना सुनाए ।