१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025

झापा जिल्ला सहकारी संघलाई विप्लव माओवादीको काउन्टर जवाफ



बिर्तामोड- नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेतृत्वको नेकपा माओवादीले झापा जिल्ला सहकारी संघलाई कार्वाही गर्ने चेतावनीसहित काउन्टर जवाफ दिएको छ । आफ्नो पार्टीको नाम लिएर विज्ञप्ति जारी गरेको जनाउँदै माओवादीले कार्वाहीको धम्कीसहित काउन्टर जवाफ फर्काएको हो ।

यसअघि विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले सहकारी संस्थाका कर्मचारीलाई धम्क्याएको, कार्यालयमा तालावन्दी गर्ने चेतावनी दिएको र मानसिक दवावमा पारेको जनाउँदै यस्ता गतिविधि बन्द गर्न जिल्ला सहकारी संघले चेतावनी दिएको थियो ।

विभिन्न राजनीतिक दल, समूह र व्यक्तिले सहकारी संस्थाको ऋण तिर्नु पर्दैन भनेर भ्रम फैलाइरहेको र बचतकर्ताको रकम जोखिममा पार्ने प्रयत्न गरेको भन्दै संघले त्यस्तो भ्रममा नपर्न सहकारीका सबै सदस्यलाई सार्वजनिक अपिल पनि गरेको थियो ।

संघको अपिल लगत्तै नेपाल कम्युनिष्ट पार्टी झापाका इञ्चार्ज प्रशान्त सी र सचिव सञ्जय सीले विज्ञप्ति निकालेर जिल्ला सहकारी संघलाई कार्वाही गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको संकट समाधानको निम्ति अहोरात्र खटिरहेको नेपाल कम्युनिष्ट पार्टीको नाम नजोड्न विज्ञप्ति प्रस्तोताहरुलाई गम्भीर चेतावनी दिन चाहन्छौँ ।’

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार ००:००  ७ : २१ बजे