१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेत्रपार्क संरक्षणमा बिर्तामोड नगरपालिकाको चासो : सुरु भयो श्रमदान अभियान



बिर्तामोड-झापाको बिर्तामोड–७ गरामनीमा रहेको सहीद नेत्र पार्कको संरक्षणका लागि बिर्तामोड नगरपालिकाले चासो देखाएको छ । सरकारी लगानी भएर पनि संरक्षण अभावमा रहेको पार्क व्यवस्थापनका लागि नगरपालिकाले समुदायसँग सहकार्य सुरु गरेको हो ।

सरकारले देशका सय पर्यटकीय गन्तव्यमा नेत्र पार्कलाई पनि सूचीमा राखेको थियो । पार्क निर्माणमा राज्य कोषको अढाई करोड भन्दाबढी रुपैयाँ खर्च भएको स्थानीय बताउँछन् । तर, पार्क संरक्षणविहीन भएपछि त्यहाँका सामान हराउने क्रम चलिरहेको छ ।

नेत्र पार्कको विकास र संरक्षणमा स्थानीय समुदायलाई परिचालन गर्नु पर्ने आवाज उठिरहेका बेला सोमवारदेखि श्रमदान अभियान सुरु गरिएको छ । बिर्तामोड नगरपालिका वडा नम्वर–७ को सक्रियतामा पार्क सरसफाईका लागि श्रमदान सुरु भएको हो ।

श्रमदानमा प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरकी प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्र संग्रौला, पूर्व प्रमुख ध्रुवकुमार सिवाकोटी, वडाध्यक्ष अविरल कृष्ण खरेललगायत सुन्दर निचाझोडा सामुदायिक वन समूहका पदाधिकारी र स्थानीयबासी सहभागी भएका छन् ।

२२ विघा क्षेत्रफलमा फैलिएको पार्कमा यसअघि भुटानी शरणार्थी बस्दै आएका थिए । शरणार्थी तेस्रोमुलक पुनर्वास भएपछि खाली रहेको जग्गामा पार्क बनाउन थालिएको थियो । निर्माणाधीन अवस्थामै पार्क अलपत्र परेपछि यहाँका सामान चोरिएका छन् ।

नगर गौरव योजनाका रुपमा पार्कलाई पर्यटकीय गन्तव्य बनाउने गरी अभियान अगाडि बढाउनु पर्ने नगरका राजनीतिक दलहरुको माग छ । एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई हरियाली वातावरण सहितको पार्क आन्तरिक पर्यटनको विकासमा सहयोगी हुने धारणा राख्छन् ।

कांग्रेसका नगर उपसभापति सूर्य कन्दङ्वा पनि नेत्र पार्कको विकास र विस्तारमा लगानी जुटाउन सके एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य थपिने बताउँछन् । उनले नगरका विकास योजनामा हुने साझा सहमतिले परिणाम ल्याउने पनि बताए ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार ००:००  ९ : ३२ बजे