२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

मकैको भाउ घटेपछि व्यवसायिक खेतीमा संलग्न झापाका किसान निराश



झापा-झापा किसानले उत्पादित मकैको उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारीले तोकेको मूल्यमा उत्पादन बेच्नु पर्ने बाध्यता रहेको किसानले गुनासो गरेका हुन् ।

किसानका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष मकैको भाउ घटेको छ । किसानले अघिल्लो वर्ष ३५ सयदेखि चार हजार रुपैयाँ प्रति क्वीन्टलकाे दरले मकै बेचेका थिए ।

किसान चन्द्रकुमारी आले यसवर्ष २६ सय रुपैयाँ प्रति क्वीन्टलकाे दरले मकै बिक्री भएको बताउँछिन् । लागत अनुसारको मूल्य नपाउँदा मकै खेतीमा लागेका किसान निराश छन् ‌।

अघिल्लो वर्षको तुलनामा मकैको बिक्री मूल्य घटेकाले किसान मर्कामा परेको कृषि ज्ञान केन्द्र झापाका निमित्त प्रमुख सागर विष्ट बताउँछन् ।

कृषि ज्ञान केन्द्रको तथ्याङकअनुसार झापामा गत वर्ष ४४ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको थियो । किसानले दुई लाख ७० हजार मेट्रिकटन मकै फलाएका थिए ।

यो वर्ष झापामा ४५ हजार हेक्टर क्षेत्रफलमा मकै खेती गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रले मकै खेती प्रवर्द्धन गर्दै आएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार ००:००  ७ : ५९ बजे