१५ आश्विन २०८०, सोमबार | Tue Oct 3 2023

एकता स्पाेर्टिङ क्लबको निजी स्रोतमा नियमित फुटबल अभ्यास गर्छन् सय विद्यार्थी



सुब्रत न्यौपाने,

बिर्तामोड– झापाको बिर्तामोड-२ मा स्थापित एकता स्पोर्टिङ क्लबले व्यवसायिक खेलाडी उत्पादनका लागि नियमित प्रशिक्षण अभ्यास सञ्चालन गरिरहेको छ ।

विभिन्न विद्यालयमा अध्ययनरत बालबालिकालाई खेलकुदप्रति अभिरुचि जगाउँदै क्लबले दैनिक प्रशिक्षण अभ्यास चलाइरहेको हो ‌।

झापाको चारपानेस्थित बीर अमरसिंह माध्यमिक विद्यालयको खेल मैदानमा दैनिक एक सयको हाराहारीमा विद्यार्थीले प्रशिक्षण अभ्यास गरिरहेको क्लबका अध्यक्ष किरण पौडेलले जानकारी दिए ।

अहिले १६ वर्ष भन्दा मुनिका बालबालिका फुटबल खेलको नियमित अभ्यासमा सहभागी भइरहेका छन् । खेलकुदका माध्यमबाट विद्यार्थीलाई अनुशासित र गतिशील बनाउने उद्देश्यले क्लबले विभिन्न विद्यालयका विद्यार्थीलाई समेट्दै आएको छ ।

नियमित प्रशिक्षण अभ्यासमा रहेका विद्यार्थीले तालिम प्राप्त प्रशिक्षकबाट खेल कला सिक्ने मौका पाइरहेकाे क्लबको प्राविधिक समूहका संयोजक माधव खरेल बताउँछन् ।

खेलकुदको गुणात्मक अभ्यासले व्यवसायिक खेलाडी उत्पादनमा सहयोग गर्ने भएकाले आफ्नै स्रोत व्यवस्थापन गरेर क्लबले प्रशिक्षण सञ्चालन गरिरहेको छ ‌।

क्लबले प्रारम्भिक प्रशिक्षणका क्रममा मुख्य प्रशिक्षकका रूपमा प्रवेश कटुवाललाई नियुक्त गरेको थियो । अहिले तालिम प्राप्त प्रशिक्षक दीपेश खतिवडा नियमित अभ्यासका लागि साताको ६ दिन विद्यार्थीसँग छन् ।

६ वर्षदेखि २० वर्ष उमेर समूहका बालबालिकालाई नियमित प्रशिक्षण अभ्यासमा सहभागी गराइँदै आएको अध्यक्ष पौडेलले बताए । प्रशिक्षणका लागि उनीहरुलाई चार समूहमा विभाजन गरिएको छ ।

शुभेच्छुक दाताहरुबाट संकलन भएको रकमले प्रशिक्षकको खर्च धान्दै आएको क्लबले दीर्घकालिन स्रोत संकलनको योजना पनि बनाएको छ ।

आर्थिक समितिका सदस्य लक्ष्मीप्रसाद घिमिरे क्लबले दीगो आर्थिक स्रोत व्यवस्थापनका लागि रणनीति बनाइरहेको बताउँछन् । उनका अनुसार शुभेच्छुकले दिएको सहयोगका भरमा अहिलेसम्म प्रशिक्षण अभ्यास चलिरहेको छ ।

नियमित अभ्यासमा सहभागी भएका बालबालिकाले बाह्य क्लबहरुसँग पनि प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । यसले उनीहरूको सीप तथा क्षमता विकासमा समेत सहयोग पुगेको क्लबका सदस्य गोविन्द गिरीले बताए।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार ००:००  ८ : ४३ बजे