झापा-नेकपा एकीकृत समाजवादीले सरकारबाट बाहिरिने चेतावनी दिएको छ । राष्ट्रिय सभाको सिट बाँडफाँडको विषयलाई लिएर समाजवादीले सरकार छोड्ने धम्की दिएको हो ।
सोमबार काठमाडौँमा बसेको सचिवालय बैठकमा गठबन्धनको संस्कृतिविपरीत कांग्रेस र माओवादीले सरकार सञ्चालन गरेको समाजवादीले निष्कर्ष निकालेको छ ।
गठबन्धनमा यस्तै अवस्था रहे सरकारबाट बाहिरिनुपर्ने पूर्व प्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका नेता झलनाथ खनालले बताएका छन् । उनले गठबन्धनमा अटाउन असहज भइरहेको प्रष्ट पारेका छन् ।
सरकार सञ्चालन र राष्ट्रिय सभाको सिटको विषयलाई लिएर सत्ता गठबन्धन दलहरूबीच निरन्तर खटपट छ । सत्ताका ठूला ले एकलौटी गर्न खोजेपछि साना दल असन्तुष्ट छन् ।
जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता घटकसँग असन्तुष्ट छन् । पुस २१ गते प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक छोडेर साना दल हिँडेका थिए ।