१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025

सुनसरीमा प्रहरीमाथि आक्रमण, हतियार र गोली लुटियो



झापा- सुनसरीमा सादा पोसाकका प्रहरीमाथि आक्रमण गरेर एउटा समूहले हतियार र गोली लुटेको छ। चोरी नियन्त्रणका लागि इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएका प्रहरीमाथि बर्जु गाउँपालिका–१ मा गए राति आक्रमण भएको हो ।

स्थानीयले चोरीको घटना बढेको गुनासो गरेपछि प्रहरी जवान बिमन परियार र प्रेम चौधरीलाई सादा पोसाकमा खटाइएको थियो । परियार र चौधरी पुग्नासाथ एउटा समूहले आक्रमण गरेको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए ।

आक्रमणकारीको समूह ठूलो थियो । प्रहरी दुई जना मात्रै भएकाले त्यो समूहसँग भिड्नसक्ने अवस्था नभएको जनाइएको छ । रेग्मीका अनुसार आक्रमण गरेर प्रहरीलाई घाइते बनाएपछि हतियार र गोली लुटेर उक्त समूह फरार भएको हो ।

आक्रमणबाट प्रहरी जवान परियारको टाउकोमा चोट लागेको छ । आक्रमणकारीले प्रहरीको साथमा भएको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको एसपी रेग्मीले जानकारी दिए ।

घटनापछि खटिएको प्रहरी टोलीले घटनास्थल नजिकबाट लुटिएको पेस्तोलको छ राउण्ड गोली, म्यागजिन, गोलीको खाली खोका र कटुवा पेस्तोलमा प्रयोग हुने एक राउण्ड गोली बरामद गरेको छ । पेस्तोल भने अहिलेसम्म फेला परेको छैन् ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार ००:००  ८ : १७ बजे