काँकडभिट्टा–पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा करिव ४८ करोड रुपैयाँको हरियो तरकारी नेपाल भित्रिएको छ । भारत लगायतका मुलुकबाट नेपालले उक्त तरकारी आयात गरेको हो ।
प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका अनुसार साउन, भदौ र असोजमा पूर्वी नाकाबाट २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ । तर, नेपालबाट ताजा तरकारीको भारत निर्यात भने नगन्य छ ।
तीन महिनामा नेपालबाट नौ करोड ६५ लाख बराबरको ताजा तरकारी निर्यात भएको प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले जानकारी दिए । उनका अनुसार यो अवधिमा नेपालले नौ करोड ५४ लाखको बन्दाकोवी भारत पठाएको छ ।