७ आश्विन २०८०, आइतबार | Mon Sep 25 2023

कैदी हत्या प्रकरणका १५ आरोपी कारागार चलान



झापा-सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदी हत्या प्रकरणका १५ आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका सात प्रहरी र आठ कैदीलाई पुर्पक्षका लागि बुधबार कारागार चलान गरिएको हो ।

जिल्ला अदालत सङ्खुवासभाका श्रेस्तेदार रामचन्द्र केसीका अनुसार जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले सात प्रहरीलाई धनकुटा र आठ कैदीलाई तेह्रथुम पठाउन आदेश दिएका हुन् ।

कारागार विभाग र जिल्ला सुरक्षा समितिको समन्वयमा प्रहरीलाई धनकुटा र कैदीलाई तेह्रथुम पठाइएको हो । बुधबार सरकार र प्रतिवादीतर्फका आठ कानुन व्यवसायीले बहस गरेका थिए ।

कारागारको शौचालयको झ्यालको रड काटेर भाग्न खोजेको भन्दै नियन्त्रणमा लिएर सुरुमा प्रहरीले र त्यसपछि अन्य कैदीबन्दीले सामूहिक कुटपिट गर्दा उनीहरूको मृत्यु भएको अनुसन्धानबाट खुलेको छ । सबै अभियुक्तविरुद्ध जन्मकैदको मागदाबी गरिएको छ ।

साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटबाट मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार ००:००  १ : ४३ बजे