१४ मंसिर २०८०, बिहिबार | Fri Dec 1 2023

बिर्तामोडमा निरन्तर अनुगमन : अखाद्य वस्तुको बिक्री रोक्न निर्देशन



झापा-बिर्तामोड नगरपालिकाले म्याद गुज्रिएका अखाद्य वस्तुको विक्रीवितरण अविलम्व बन्द गर्न निर्देशन दिएको छ । निरन्तर बजार अनुगमन गर्दै आएको नगरपालिकाले अखाद्य उपभोग्य सामानको बिक्री रोक्न व्यवासयीलाई निर्देशन दिएको हो ।

म्याद गुज्रिएका उपभोग्य सामान बिक्रीका लागि राख्ने व्यवसायीलाई सचेत गराउँदै नगरपालिकाले उपभोग्य सामानको मिति हेरेर मात्र खरिद गर्न उपभोक्तालाई पनि आग्रह गरेको छ ।

नगर उपप्रमुख नगेन्द्र संग्रौलाले कसैले पनि उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्न नहुने बताए । बिहीवार नगरपालिकाले बिर्तामोड पश्चिम वस स्ट्याण्डमा रहेको अनिल किराना स्टोरमा अनुगमन गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तरगत हेलो सरकारमा उजुरी परेपछि बिर्तामोड नगरपालिकाले अनुगमन गरेको हो ।

अनुगमनका क्रममा कुहिएको छोकडा घाममा सुकाइरहेको फेला परेपछि जफत गरिएको छ । अनुगमन टोलीले तीन भित्रमा उपभोक्ताले देख्ने गरी मूल्य सूची टाँस्न निर्देशन पनि दिएको छ ।

तेल, बेसन लगायतका प्याकेटमा उत्पादन मिति स्पष्ट प्रिन्ट गर्न सम्बन्धित उद्योगहरुलाई निर्देशन दिने, प्याकेजिङ गर्ने खालका खाद्य वस्तुमा खाद्य अनुज्ञा पत्र लिने लगायतका निर्देशन दिएको नगर उप प्रमुख संग्रौलाले बताए ।

अनुगमनमा नगर कार्यपालिका सदस्य यमुना आचार्य, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष मदन गोपाल सुव्वा, बिर्तामोड उद्योग वाणिज्य संघका कार्यालय सचिव राजु गौतम लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार ००:००  ८ : १३ बजे