बिर्तामोड-नागरिक उन्मुक्ति पार्टी एकीकृतले लिम्वूवान प्रान्तिय समिति गठन गरेको छ । झापाको दमकमा साउन १३ गते भएको प्रान्तिय सम्मेलनले भूपेन्द्र मावोको अध्यक्षतामा समिति गठन गरेको हो ।
५९ सदस्यीय प्रान्तिय समितिमा छ जना उपाध्यक्ष, दुई जना महासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष छन् । पार्टीका संरक्षक रेशमलाल चौधरीको प्रमुख आतिथ्यमा आयोजित सम्मेलनले प्रान्तिय समिति गठन गरेको हो ।
सम्मेलनले १४ बूँदे राजनीतिक प्रस्ताव पारित गरेको छ । भौगोलिक, सांस्कृतिक र ऐतिहासिक पहिचानसहित ११ प्रदेशको पक्षमा नागरिक उन्मुक्ति पार्टी छ ।
पार्टी अवधारणा अनुरुप अरुण पूर्वका नौ जिल्ला समेटेर प्रान्तिय समिति बनाएको पार्टीका केन्द्रीय सचिवालय सदस्य धनबहादुर पङ्धाकले बताए ।
राज्य पुनर्सरचनाको पूर्ववत मुद्दामा बहस केन्द्रीत गर्दै नागरिक उन्मुक्ति पार्टीले क्रमशः कोचिला, किँरात र खम्वूवान प्रान्तिय समिति पनि बनाउँदै लैजाने घोषणा गरेको छ ।
कोसी प्रदेशको नाम पहिचानका आधारमा राखिनु पर्ने मागसहित नागरिक उन्मुक्ति पार्टीले आन्दोलनका घाइतेको उपचार खर्च व्यहोर्न राज्य तयार हुनु पर्ने जनाएको छ । उसले कार्यकर्तामाथि लगाइएको झुटो मुद्दा फिर्ता लिन पनि माग गरेको छ ।