५ आश्विन २०८०, शुक्रबार | Fri Sep 22 2023

भद्रपुर बजारमा छैन् चहलपहल, बजारको संरचनागत सुधार गर्न उद्योगी व्यवसायीको माग



भद्रपुर– झापा उद्योग वाणिज्य संघले भद्रपुर बजारक्षेत्रमा व्यवसायिक चहलपहल हराउँदै गएको भन्दै सार्वजनिक रूपमा चिन्ता प्रकट गरेको छ ।

व्यावसायिक सुरक्षा, बजारको संरचनागत सुधार, सडक बत्तीको व्यवस्थापन, साँघुरा बाटाकाे पुनर्निर्माण लगायतका विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै संघले यस्तो चिन्ता प्रकट गरेको हो ।

स्थानीय उपभोक्ताले सीमावर्ती भारतीय बजारलाई प्राथमिकतामा राख्न थालेपछि भद्रपुर बजारको व्यवसायिक कारोबार दिनप्रतिदिन शिथिल बन्दै गएको छ ।

खुला सीमाका कारण नेपालतर्फका सीमावर्ती बजार सुनसान भइरहँदा भारतीय बजारमा भने नेपाली उपभोक्ताको आकर्षण देखिन्छ ।

उद्योग वाणिज्य संघले हाट बजार क्षेत्रको संरचनागत सुधार नगरेसम्म उपभोक्ताको आकर्षण नबढ्ने जनाउँदै यस विषयमा भद्रपुर नगरपालिकाले अग्रसरता लिनुपर्ने जनाएको हाे ।

सङ्घका अध्यक्ष प्रज्वल राईले १२ बूँदे मागपत्र स्थानीय सरकारलाई बुझाइएको र त्यसका आधारमा बजार क्षेत्रको अपेक्षाकृत सुधार हुने आशा राखिएको बताए ।

पछिल्लो समय भद्रपुर बजारमा चोरीका घटना बढेका छन् । व्यवसायिक सुरक्षाका लागि सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गर्ने वातावरण मिलाउन पनि वाणिज्य संघले नगरपालिकालाई आग्रह गरेको छ ।

बजार क्षेत्रका सडकलाई फराकिलो बनाउँदै सिसी क्यामेरा जडानलाई उच्च प्राथमिकतामा राख्न पनि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको अध्यक्ष राईले बताए ।

वाणिज्य क्षेत्रबाट संकलित करको २५ प्रतिशत रकम स्थानीय व्यवसायीहरूको हकहित र क्षमता अभिवृद्धिका लागि खर्चिनु पर्नेमा संघले जोड दिएको छ ।

नगर प्रमुख गणेश पोखरेलले उद्योगी व्यवसायीले राखेका मागका सम्बन्धमा आफूहरु सकारात्मक रहेको बताए ।

भद्रपुर बजारलाई चलायमान बनाउन र बजार क्षेत्रको संरचनागत सुधारका लागि नगरपालिकाले आवश्यक योजनासहित काम गर्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार ००:००  ७ : १८ बजे