काठमाडौँ– सञ्चार क्षेत्रमा क्रियाशील संस्थामा संलग्न जनशक्ति र विषयवस्तुमा समावेशीकरणको यथार्थ समेटिएको पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ सार्वजनिक भएको छ ।
पत्रकार तारामणि सापकोटाले लेख्नुभएको उक्त पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत सङ्घसङ्गठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्याङ्कीय विश्लेषण प्रस्तुत गरिएको छ ।
काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमिल्सिना र आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापाले संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरेका हुन् ।
कार्यक्रममा समावेशी आयोगका अध्यक्ष तिमिल्सिनाले समावेशीतालाई हेर्ने दृष्टिकोण बदल्नु पर्ने बताए । आदिवासी जनजाति आयोगका अध्यक्ष थापाले नीति निर्माण र कार्यान्वयन तहमा समावेशीकरण नहुँदा त्यसको प्रभाव राज्यका सबै निकाय र सञ्चार माध्यममा पनि परेको बताए ।
पुस्तकमाथि टिप्पणी गर्दै राष्ट्रिय समाचार समिति राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाली समाज विविधतायुक्त भए पनि सञ्चारमाध्यममा विविधता पाउन नसकिएको यथार्थ पुस्तकले दर्शाएको बताए ।
टिप्पणीकार एवं सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवाले पत्रकार महिलाले सङ्घर्ष जारी राख्नुपर्ने अवस्था तथा नेपालको इतिहास, वर्तमान र भविष्यलाई पुस्तकले मार्गदर्शन गरेको बताइन्
पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले मिडियाको विषयवस्तु कुनै एक जातिको वरपर घुमेको, समाचार कक्ष तथा सञ्चार संस्था समावेशी हुन सकेका छैनन् भन्ने तथ्य पुस्तकले देखाएको बताए ।
पुस्तकका लेखक सापकोटाले पुस्तकमा सञ्चार माध्यम, सञ्चार संस्था, पत्रकारका पेसागत सङ्घसङ्गठन, संवैधानिक तथा कानुनी आयोग, सञ्चारमाध्यममा प्रकाशन–प्रसारण भएका सामग्री, सञ्चारमाध्यममा सहभागिताको अवस्थाको परिमाणात्मक विधिबाट अध्ययन गरिएको जानकारी दिए ।