८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026

मनमोहन हस्पिटलले इन्सिनेटर राखेर सुरु गर्याे फोहोर व्यवस्थापन



झापा-झापाको बिर्तामोडस्थित मनमोहन हस्पिटलले अस्पतालजन्य फोहोर आफैँ व्यवस्थापन गर्न थालेको छ । बिर्तामोड–२ मा इन्सिनेटर राखेर अस्पतालले आफैँ फोहोर व्यवस्थापन गर्न सुरु गरेको हो ।

बिताृमोड–२ मा रहेको अस्पतालको जग्गामा आवश्यक संरचना बनाएर इन्सिनेटर राखिएको छ । हस्पिटल प्रशासनले शनिवार बिहान आयोजना गरेको संक्षिप्त कार्यक्रमका बीच नगर प्रमुख पवित्रा महतारा प्रसाईले इन्सिनेटरको उद्घाटन गरेकी छन् ।

अस्पतालजन्य फोहोर व्यवस्थापनको विषय चुनौतिपूर्ण बन्दै गइरहेका बेला मनमोहनले आफ्नै लगानीमा इन्सिनेटर राखेको हो । इन्सिनेटरमा विना इन्धन फोहोर जलाउन सकिने मनमोहन अस्पताल सञ्चालन समितिका उपाध्यक्ष रविन कोइराला बताउँछन् ।

इन्सिनेटरमा फोहोर राखेर आगो सल्काए मात्र पुग्ने भएकाले यसको सञ्चालन लागत पनि शुन्य पर्छ । मनमोहन हस्पिटलबाट एक सतामा दुई ट्याक्टर फोहोर उत्पादन हुने अस्पताल व्यवस्थापन समितिका सदस्य बुद्धि भट्टराई बताउँछन् ।

मनमोहन हस्पिटलले भारतीय कम्पनी सोलिटेकबाट करिव २० लाख रुपैयाँको लागतमा इन्सिनेटर किनेको हो । अस्पतालका कार्यकारी प्रमुख रोमणि भट्टराईका अनुसार फलाम र सीसाबाहेक अस्पतालजन्य सबै किसिमका फोहोर इन्सिनेटरमा हालेर जलाउन सकिन्छ ।

अस्पतालको यो इन्सिनेटर एकघण्टामा एकसय किलो फोहोर जलाउन सक्ने क्षमताको छ । कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले यसको प्रभावकारिता हेरेर अन्य स्थानीय तहमा पनि यस प्रकारको इन्सिनेटर राख्न सकिने बताइन् ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, अर्जुनधारा नगरपालिकाका उपप्रमुख खड्गमाया पराजुली पनि सहभागी थिए ।

सोलिडटेकका सञ्चालक पप्पु सरकारका अनुसार इन्सिनेटरबाट उत्सर्जन हुने धूँवामा कार्बन मोनोअक्साइड ०.२ प्रतिशत र कार्बनडाइअक्साइड ०.४ प्रतिशत मात्र हुने भएकाले वायु प्रदुषण कम हुन्छ ।

प्रकाशित मिति : १६ मंसिर २०८०, शनिबार ००:००  ८ : २९ बजे