१७ मंसिर २०८०, आइतबार | Mon Dec 4 2023

झापा लिगको खेल तालिका सार्वजनिक




भद्रपुर- भद्रपुर झापा गोल्डकपको आयोजनामा हुन लागेको प्रथम झापा लिगको खेल तालिका सार्वजनिक भएको छ । गोल्डकपको सचिवालय भद्रपुरस्थित मेची रंगशालामा प्रतियोगितामा सहभागी पालिकाका प्रतिनिधिको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको हो ।

अन्तर पालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेल हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाबीच हुने प्राविधिक संयोजक भगिरथ आले मामाले बताए ।

अघिल्लो फागुनमा भव्यताका साथ भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता सम्पन्न गरेको भद्रपुर झापा गोल्डकपले मंसिर ७ गतेदेखि झापा लिग गर्न लागेको हो । प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुनेछ ।

भद्रपुरको मेची रंगशालामा हुने झापा लिग १८ दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिता फिफा विश्वकपको ढाँचामा खेलाइने अध्यक्ष दीपेश ढकालले जानकारी दिए ।

झापाका १४ वटा पालिका र आयोजकको भद्रपुर ब्लेजर्स टिम गरी प्रतियोगितामा १५ वटा टीमले प्रतिस्पर्धा गर्ने छन् । १५ वटा टीमलाई चारवटा समूहमा विभाजन गरी खेलाइने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिए ।

खेल तालिकाअनुसार समूह क मा हल्दिबारी, बिर्तामोड र बुद्धशान्ति रहेका छन् । समूह ख मा कनकाई, भद्रपुर ब्लेजर्स, झापा र गौरादह, समूह ग मा कचनकवल, बाह्रदशी, मेचीनगर र भद्रपुर तथा समूह घ मा कमल, दमक, शिवसताक्षी र अर्जुनधारा रहेका छन् ।

प्रत्येक समूहका विजेता र उपविजेता आठवटा टीम नकआउट चरणमा प्रवेश गर्ने छन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मंसिर १९ र २० गते हुने छन् । सेमिफाइनलका खेल मंसिर २२ गते हुने छन् ।

प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपैयाँ खर्चको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार ००:००  ७ : ४८ बजे