इटहरी-कोशी प्रदेश सरकारले सुनसरीको इटहरीमा जलन उपचार अस्पताल निर्माण गर्ने भएको छ । जनस्वास्थ्य सरोकार ट्रस्टको सहकार्यमा प्रदेश सरकारले अस्पताल निर्माणको तयारी थालेको हो ।
अस्पताल निर्माण सम्बन्धी सम्झौतामा प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्की, प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डाक्टर सुधा देवकोटा र ट्रस्टका कार्यकारी निर्देशक डाक्टर गौरी प्रधानबीच हस्ताक्षर भएको छ ।
आगलागीमा परेका घाइतेहरूको उपचारका लागि १०० सैयाको अस्पताल निर्माण गर्न लागिएको हो । तीन महिनाभित्र अस्पतालको निर्माण कार्य सुरु हुने मुख्यमन्त्री कार्कीले जानकारी दिए ।
४० करोड रूपैयाँको लागतमा निर्माण हुन लागेको अस्पतालका लागि प्रदेश सरकारले पहिलो चरणमा १ करोड ५० लाख रुपैयाँ बजेट उपलब्ध गराउनेछ ।