झापा-नेपालको मातृ मृत्युदर सन् २०२१ मा प्रतिलाख एक सय ५१ जना सर्वेक्षणले देखाएको छ । दीगो विकास लक्ष्य प्राप्त गर्न सन् २०३० मा मातृ मृत्युदर प्रतिलाख ७० जनामा झार्नु पर्ने विज्ञहरु बताउँछन् ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले मातृ मृत्युदर घटाउन स्वास्थ्य मन्त्रालयले गुणस्तरीय स्वास्थ्य सेवामा ध्यान दिएको बताए ।
२०६८ सालको जनगणना अनुसार नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्युदर २८१ जना थियो । पछिल्लो जनगणना अनुसार प्रतिलाख जीवित जन्ममा मातृ मृत्युदर १५१ मा झरेको हो ।
बढ्दो नागरिक चेतना र स्वास्थ्य संस्थाको पहुँच स्थापित हुँदै जाँदा मातृ मृत्यु दरमा कमी आएको छ।
घट्दैछ बाल मृत्युदर
नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा बाल मृत्युदर ६ प्रतिशतले घटेको छ । आर्थिक सर्वेक्षण २०७९–०८० अनुसार यसअघि पाँच बर्षको मुनिका बालबालिकाको मृत्युदर प्रति हजार ३३ रहेको थियो । जबकी, यसभन्दा अगाडि सन् २०१६ मा बाल मृत्युदर ३९ थियो ।
स्वास्थ्य क्षेत्रमा बढ्दै गएको सार्वजनिक तथा निजी लगानी र स्वास्थ्य सम्बन्धी नागरिक चेतनामा वृद्धि हुँदै गएसँगै स्वास्थ्य सूचकमा सुधार हुँदै गएको सर्वेक्षणले देखाएको हो ।
सरकारले दीगो विकासको लक्ष्य अनुरुप सन् २०३० सम्ममा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति एक हजारमा २० मा पुर्याउने लक्ष्य लिएको छ ।