१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

प्रधानमन्त्री प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकारद्वारा राजीनामा



झापा-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् । यद्यपि, गजुरेलले दिएको राजीनामा स्वीकृत हुन बाँकी छ ।

जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेपछि जनस्तरबाट भइरहेको आलोचनाका बीच प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलको राजीनामा आएको हो ।

आफ्नै पार्टीको नेतृत्वसँग तीव्र असन्तुष्टि राख्दै आएका माओवादी नेता गजुरेलले मङ्सिर २० गते प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए । नेता गजुरेलले पदबाट राजीनामा दिएको स्वीकार्दै स्वीकृत भएको विषयमा कुनै जानकारी नआएको बताए ।

गत आम निर्वाचनमा सिन्धुलीबाट टिकट नपाएपछि राजनीतिक नेतृत्वप्रति तीव्र आक्रोश र असन्तुष्टि व्यक्त गरिरहेका गजुरेललाई मनाउन प्रधानमन्त्री दाहालले राजनीतिक सल्लाहकार नियुक्त गरेका थिए ।

त्यतिबेला कार्यकारी पदमा नियुक्ति पाउने आशा राखेका माओवादी नेता गजुरेलले अहिले राजीनामाको कारण खुलाएका छैनन् । स्वीकृत भएपछि राजीनामाको कारण खुलाउने उनले बताएका छन् ।

२०७९ माघ ९ गते प्रधानमन्त्री प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भएका नेता गजुरेल अब पार्टी काममा फर्कने मनस्थितिमा छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार ००:००  ८ : ५८ बजे