२८ जेष्ठ २०८०, आइतबार | Sun Jun 11 2023

बडी ग्यारेजको आयोजनामा जेठ १२ र १३ गते बिर्तामोडमा प्रदेशस्तरीय बडी विल्डिङ च्याम्पियनसीप प्रतियोगिता



बिर्तामोड- बडी ग्यारेजको आयोजनामा कोसी प्रदेशस्तरीय बडी विल्डिङ च्याम्पियनसीप प्रतियोगिता हुने भएको छ । बडी ग्यारेजले पुरुष प्रतिस्पर्धी बीच कञ्चनजङघा बडीविल्डिङ च्याम्पियनसीप प्रतियोगिता आयोजना गर्न लागेको हो ।

प्रदेश खेलकुद बाेर्डकाे आर्थिक सहयोगमा प्रतियोगिता सञ्चालनको तयारी थालिएको बडी ग्यारेजले जनाएको छ । प्रतियोगिताका लागि जेठ १२ र १३ गतेको मिति तय गरिएको बडी ग्यारेजका अध्यक्ष अर्जुन मैनालीले बताए ।

व्यायामप्रतिको आकर्षण र अभिरुचिलाई जागृत गराई स्वस्थ्य र निरोगी जनशक्ति तयार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा ६० जना खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक राम दाहालले जानकारी दिए ।

प्रतियोगितामा ५५,६०,६५,७० र ७५ केजी भन्दा माथि तौल समूहका खेलाडी बीच प्रतिस्पर्धा हुनेछ । सहभागी खेलाडीलाई खाने बस्ने व्यवस्थासहितको आवासीय सुविधा उपलब्ध गराइने बडी ग्यारेजका सचिव राजेश गिरीले बताए ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर र उदयपुरका खेलाडी सहभागी हुनेछन् । प्रतियोगिता सञ्चालन गर्न २४ लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।

पुरस्कारका लागि नौ लाख बिनियोजन

प्रदेश सरकारबाट प्रतियोगिताका लागि १० लाख रुपैयाँ प्राप्त हुनेछ । बाँकी रकम सहयोगी दाताबाट संकलन गरिने आयोजकले जनाएको हो । प्रतियोगितामा पुरस्कारका लागि नौ लाख ६१ हजार रुपैयाँ छुट्याइएको कार्यक्रम संयोजक दाहालले बताए ।

प्रतियोगितामा प्रथम हुनेले तीन लाख ११ हजार १११ रुपैयाँ पुरस्कार पाउने छ । दोस्रो हुनेले दुई लाख ५० हजार र तेस्रो हुनेले एकलाख ५० हजार पुरस्कार पाउने अर्का कार्यक्रम संयोजक दीपेन चौधरीले बताए ।

प्रतियोगितामा चौथो हुनेले एकलाख र पाँचौ हुनेले ७५ हजार रुपैयाँ पुरस्कार पाउनेछ । हरेक तौल समूहमा दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमश १० हजार र पाँच हजार रुपैयाँ दिइनेछ । अघिल्लो पटक भन्दा यसपटक पुरस्कार राशि बढाइएको हो ।

राष्ट्रिय प्रतियोगिताका रुपमा विकास गर्ने लक्ष्य
अध्यक्ष मैनालीका अनुसार यो प्रतियोगिता काठमाडौँ बाहिर सबैभन्दा ठूलो पुरस्कार राशिको हो । उनी यसलाई आगामी वर्षहरुमा राष्ट्रिय प्रतियोगिताका रुपमा विकास गर्ने लक्ष्य राखिएको बताउँछन् ।

बडी ग्यारेजले दुई वर्ष अगाडि पनि प्रादेशिक स्तरको पहिलो प्रतियोगिता आयोजना गरेको थियो । यो दोस्रो प्रतियोगिता हो । अध्यक्ष मैनालीले पहिलो भन्दा दोस्रो प्रतियोगिता थप व्यवस्थित र उत्कृष्ट हुने बताए ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार ००:००  १० : ३८ बजे