बिर्तामोड- वडा सदस्यको लागि एक दिने क्षमता विकास तालिम बिर्तामोडमा सुरु भएको छ । तालिमको नगर प्रमुख पवित्रा महतारा प्रसाईले व्यानर वाचन गरेर उद्घाटन गरेकी छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले यस प्रकारका तालिम, गोष्ठीले काममा आत्मविश्वास् बढ्ने बताइन् । उनले तालिममा सिकेको कुरालाई व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्दै जनप्रतिनिधिले जिम्मेवार ढंगले प्रस्तुत हुनु पर्ने धारणा व्यक्त गरिन् ।
उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जनप्रतिनिधिले पार्टीगत आधारमा नभई स्वतन्त्र र न्यायिक ढंगले जनतालाई सेवा सुविधा दिनु पर्नेमा जोड दिएका छन् । उनले स्थानीय सरकारको सुशासन दिने कुरामा ५५ जना जनप्रतिनिधि नै लागेको बताए ।
सहभागीलाई विकास योजनाको अवधारणा, स्थानीय तहको योजना प्रक्रिया, स्थानीय सुशासन र जवाफदेहिता, जलवायु परिवर्तनमा स्थानीय तहको भूमिका, उपभोक्ता समिति र लेखा पद्दति लगायतका विषयमा तालिम प्रदान गरिनेछ ।
नगरपालिकाका योजना शाखा प्रमुख जय तिम्सिना, लेखा अधिकृत तेजेन्द्र तामाङ, गैरसरकारी संस्था महासंघका प्रदेश सचिव सोमराज ढकाल र झापा सचिव विजय तिम्सिनाले प्रशिक्षण दिने जनाइएको छ ।
गैरसरकारी संस्था महासंघको सहयोगमा बिर्तामोड नगरपालिकाले आयोजना गरेको तालिममा ४३ जनाले सहाभागिता जनाएका छन् ।
तालिम उद्घाटन कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडा, गैरसरकारी संस्था महासंघका अध्यक्ष कृष्णप्रसाद दंगाल, महासंघका केन्द्रिय सदस्य छवि खतिवडा, कोषाध्यक्ष मनोज घिमिरे लगायतको उपस्थिति रहेको थियो ।