२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

झापामा नेपाल आइडल अडिसनको व्यग्र प्रतिक्षा



बिर्तामोड- अन्तर्राष्ट्रिय लोकप्रिय सांगीतिक रियालिटी शो नेपाल आइडल अडिसनको प्रारम्भिक तयारी पूर्वी नेपालबाट सुरु भएको छ । झापाको बिर्तामोडबाट नेपाल आइडलको पाँचौं सिजनको अडिसन प्रारम्भ हुन लागेको हो ।

नेपाली संगीत आकाशमा अन्तर्राष्ट्रिय लोकप्रिय साङ्गीतिक रियालिटी शो नेपाल आइडलको छुट्टै र विशिष्ट स्थान छ । दूर दराजका सांगीतिक प्रतिभा समेट्ने एउटा अभूतपूर्व कार्यक्रमका रुपमा नेपाल आइडल सञ्चालन हुँदै आएको छ ।

यतिबेला नेपाल आइडलको पाँचौं संस्करणको अडिसन पूर्वी नेपालको झापाबाट सुरु हुन लागेको छ । पूर्वी नेपालको व्यापारिक सहर बिर्तामोडको ग्रीनफिल्ड वर्ल्ड स्कुलमा पुस २१ गते पाँचौं संस्करणको पहिलो अडिसन हुँदैछ ।

गायन विधाका अब्बल प्रतिस्पर्धीहरूको उत्साहपूर्ण सहभागिताले नेपाल आइडलको लोकप्रियता चुलिँदै गएको छ । नेपाल आइडल अडिसनको प्रतीक्षामा रहेका पूर्वी नेपालका गायन प्रतिभाहरू यतिबेला थप उत्साहित छन् ।

आफ्नो सांगीतिक यात्रालाई कडा मेहनत र परिश्रमका साथ अगाडि बढाइरहेका प्रतिस्पर्धीहरूको दमदार प्रस्तुति नेपाल आइडलमा रहँदै आएको छ । गायन प्रतिस्पर्धाले आफूलाई थप सशक्त बनाउन सहयोग गर्ने भएकाले प्रतिस्पर्धीहरु अडिसनको प्रतीक्षामा छन् ।

नेपालका मात्रै होइन, नेपाली भाषी बाहुल्य भारतको सिक्किम, दार्जिलिङ आसाम लगायत उत्तरपूर्वी भारतबाट पनि प्रतिस्पर्धीहरू पाँचौं संस्करणको अडिसनका लागि झापा आउँदै छन् ।

यसले नेपाल आइडलको गरिमा र गौरवलाई अझै फराकिलो बनाउने विश्वास गरिएको छ । संगीतमा भविष्य बनाउने र जीवन खोज्नेहरू नेपाल आइडलको प्रतिस्पर्धामा अबल प्रतिभाका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ ।

नेपाल आइडलको निर्णायकमा नेपाली सांगीतिक जगतका हस्तीहरु न्ह्यु वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा रहेका छन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार ००:००  १० : ५१ बजे