झापा-नेकपा माओवादी केन्द्रले डाक्टर बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकताका लागि प्रारम्भिक प्रयास सुरु गरेको छ ।
लामो समयको वार्ता छलफल र संवादपछि माओवादी केन्द्रले समाजवादी पार्टीसँग एकताका लागि पूर्व तयारी थालेको हो । पार्टी एकताका लागि भन्दै माओवादी केन्द्रले अध्यक्ष प्रचण्डको नेतृत्वमा एकता संयोजन समिति बनाएको छ ।
शनिबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले डाक्टर भट्टराईसँग छलफल गरेर अध्यक्ष प्रचण्डको नेतृत्वमा एकता संयोजन समिति बनाएको स्थायी कमिटी सदस्य कमला रोक्काले बताइन् ।
प्रधानमन्त्री समेत रहेका प्रचण्ड डाक्टर भट्टराईको पार्टीलाई माओवादी केन्द्रमा विलय गराउने तयारीमा छन् । पहिले बाबुरामलाई पार्टीमा भित्र्याउने र त्यसपछि मात्रै विप्लवसँग पार्टी एकता गर्ने प्रचण्डको भित्री योजना छ ।