बिर्तामोड- बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई बुधवार पोसाक वितरण गरेको छ । नगरपालिका कार्यालयको सभाहलमा आयोजित कर्यक्रममा सामुदायिक तथा धार्मिक विद्यालयका प्रधानाध्यापकलाई एक मुष्टरुपमा वालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीको विद्यालय पोसाक हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कतिपय अभिभावकले छोराछोरीको लागि विद्यालय पोसाक खरिद गर्न नसक्दा पठनपाठनबाट बञ्चित हुने गरेका कारण पोसाक वितरण कार्यक्रम अगाडि सारिएको बताइन् ।
नगर प्रमुख प्रसाईले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नहुने धारणा राखिन् । सामुदायिक विद्यालयको अवस्थामा समेत सुधार आएको भन्दै नगर प्रमुख प्रसाईले भौतिक पूर्वाधार, प्रविधि र पठनपाठनको गुणस्तर सुध्रिदै गएकोमा खुशी व्यक्त गरिन् ।
नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले शिक्षा क्षेत्रको हरेक क्रियाकलापलाई जिम्मेवारीपूर्वक अगाडि बढाउनु पर्नेमा जोड दिए । उनले विद्यालयको शौचालय, सरसफाई लगायत भौतिक अवस्थाका बारेमा पनि ध्यान दिन प्रधानाध्यापकलाई आग्रह गरे ।
शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले पोसाक वितरणले विद्यार्थीको सिकाईमा सहजता ल्याउने बताए । उनले यस वर्ष पनि ३ हजार ६ सय भन्दाबढी विद्यार्थीलाई पोसाक वितरण हुने जानकारी दिए ।
बिर्तामोड नगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका १८ वटा सामुदायिक र दुई वटा धार्मिक विद्यालयमा गत आर्थिक वर्षदेखि पोसाक वितरण गर्दै आएको छ ।
पोसाक हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेल, नगर कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, निर्मला सुनुवार, शिक्षक महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष युवराज कट्टेल, सचिव उमा भण्डारी, पूर्व स्रोत व्यक्ति डम्बरबहादुर बस्नेत, शाखा अधिकृत दिनेशकुमार आचार्य, शिक्षा अधिकृत केशर खवास, जानुका रेग्मीलगायत विद्यालयका प्रधानाध्यापक र विद्यार्थीको पनि सहभागिता रहेको थियो ।
मेयरलाई बीर अमरसिंहको सम्मान
कार्यक्रममा वडा नम्बर २ मा रहेको वीर अमरसिंह माविको तर्फबाट नगर प्रमुख पवित्रा महतारा प्रसाईलाई सम्मान गरिएको छ ।
६५ औँ वार्षिकत्सवको अवसरमा तयार पारिएको सम्मान पत्र वडा नम्बर २ का वडाध्यक्ष किशोर पौडेलले नगर प्रमुख प्रसाईलाई प्रदान गरेका छन् ।
नगर प्रमुख पदमा निर्वाचित भई समग्र बिर्तामोडको विकास र नगरवासीको हितमा निर्भिक, निर्विवादित, निष्पक्ष ढंगले कार्य गर्ने जिम्मेवारी प्राप्त गरेकाले नगर प्रमुखलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले बताए ।