बिर्तामोड-झापाको बिर्तामोड नगरपालिकाले एकजना श्रमिकको उपचारका लागि बुधवार पीडित परिवारलाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाईले झापाको चारपाने निवासी श्रमिक गणेश राजवंशीको परिवारलाई कार्यालयमा बोलाएर ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नु भएको हो ।
नेपाल ट्रेड युनियन कांग्रेससँग आवद्ध नेपाल भारवाहक मजदूर संघ इकाइ समिति चारपानेका सदस्य रहेका राजवंशी गत बैशाख ४ गते काम सकेर घर फर्किदै गर्दा आक्रमणमा घाइते भएका थिए । उपचारपछि राजवंशी घरमा आराम गरिरहेका छन् ।
श्रमिक समेतको सहभागितामा नगरपालिकाले स्थापना गरेको योगदानमा आधारित श्रमिक हित कोषबाट राजवंशी परिवारलाई उक्त रकम प्रदान गरिएको हित कोषका उपाध्यक्ष यज्ञप्रताप अधिकारीले बताउनु भयो ।